२०८३ असोज २३ गते शुक्रबार

हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती

हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २२ गते सोमबार ०२:४०

पोखरा । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढीप्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दाबी गरेका छन् । प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा उनले हेलिकप्टरले...

पोखरा ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढीप्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दाबी गरेका छन् ।

प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा उनले हेलिकप्टरले लैजानुपर्ने ठाउँ बाहेक अन्य स्थानमा राहत पुगिसकेको बताएका हुन् ।

हाल हेलिकप्टरको प्रयोग उद्धार र खोजी कार्यमा प्राथमिकता दिएकोले हेलिकप्टरमार्फत राहत लैजानुपर्ने ठाउँमा भने राहत लैजान नसकिएको उनले बताए ।

त्यस्ता क्षेत्रमा त्रिशूली वा रसुवालगायत हेलिकोप्टर पुग्ने नजिकका स्थानबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

उनले स्थानीय सरकारसँग निरन्तर समन्वय गरेर राहत वितरणको काम अगाडी बढाएको पनि जानकारी दिए । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम निरन्तर भइरहेको उनको भनाइ छ ।

तीन वटै सुरक्षा निकायले विपद्को पहिलो दिनदेखि नै उद्धार तथा राहतमा सक्रियतापूर्वक काम गरिरहेको उनको भनाई छ । उनले सामाजिक सञ्जालमा कुनै किसिमका फेक भिडियो नफैलाईदिन पनि आग्रह गरे ।

हाल सामाजिक सञ्जालमा राहत तथा उद्धारको सन्र्दभमा धेरै फेक भिडियोहरु फैलिएको पाईएको उनको भनाई छ । सामाजिक सञ्जालमा फैलिएका फेक भिडियोले जनमानसमा नकरात्मक प्रभाव पार्ने भएकोले त्यसतर्फ सर्तक हुन उनले आग्रह गरे ।

उनले भने, ‘कतिपय हाम्रो फिल्डमा नभएका, घटनास्थलमै नभएका केही फेक भिडियोहरू सामाजिक सञ्जालमा एकदमै फैलिइरहेको अवस्था हामीले पायौँ । त्यसले जनमानसमा एकखालको नकारात्मक प्रभाव पनि पारेको देखियो । फेक भिडियोहरूले दिने मिसइन्फर्मेसन पार्ने प्रभावका बारेमा हामीले हेर्नुपर्ने हुन्छ । उद्धार र राहतमा कुनै पनि कसर बाँकी नरहोस् भनेर राज्यको तर्फबाट गर्नुपर्ने कुरामा हामी एकदमै संवेदनशील छौँ । हामीले ‘डे वान’को बिहान, साँझ र रात कुनै समय पनि नभनी निरन्तर काम गरिरहेका छौँ । केही गुनासाहरू छन्, ती गुनासाहरूलाई हामी सम्बोधन गर्दैछौँ । केही बेपत्ता भएका व्यक्तिहरूका नामहरू आइरहेका छन्, त्यसलाई पनि हामी हेरिरहेका छौँ । सूचना आउनेबित्तिकै हामीले तीनटै सुरक्षा निकायलाई पठाएर चेक गर्ने र आवश्यक परे फिल्डमा खटिएको हाम्रो टिमलाई पठाउने काम गरिरहेका छौँ । त्यसकारण प्रयास जारी छ र यो प्रयास हाम्रो खोज तथा उद्धारको अवस्था टुङ्गिएसम्म जारी रहन्छ । कतिपयले हामीलाई निजी हेलिकप्टर चाहियो, त्यहाँ सामान वितरण गर्न चाहन्छौँ, राहत पाएनौँ भन्ने खालका अनुरोधहरू पनि गरिरहनुभएको छ । त्यसैले स्थानीय सरकारसँग हामी निरन्तर सम्पर्कमा छौँ । धेरै ठाउँमा राहत सामग्री पुगिसकेको छ । केही ठाउँमा हेलिकप्टर अपरेसन एकदमै अप्ठ्यारो भएको छ । त्यस्ता ठाउँमा अहिले खोज तथा उद्धारका लागि मात्रै महत्वपूर्ण सामग्री पठाउनुपर्ने भएकाले राहत सामग्री पठाउन गाह्रो भइरहेको छ । त्यसलाई पनि कसरी सम्बोधन गर्ने भनेर हामी काम गरिरहेका छौँ । जब हाम्रो अपरेसनको हेलिकप्टर त्यहाँ गएको हुँदैन, त्यतिबेला हामी काठमाडौँबाट मात्रै होइन, चाहे त्रिशूलीबाट होस् वा रसुवाबाटै जहाँसम्म हेलिकप्टर जान सक्छ, त्यहाँबाट खाद्य सामग्री पठाउने कोसिस गरिरहेका छौँ ।’

छिमेकी मुलुकसँग समन्वय गर्दै उद्धार तथा राहतमा आवश्यक सहयोग लिइरहेको पनि उनले बताए । राज्यका तर्फबाट खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराखी सुरक्षा निकायलाई चौबीसै घण्टा परिचालन गरिएको उनको भनाई छ ।

बेपत्ता व्यक्तिका नाम प्राप्त हुनेबित्तिकै तीनवटै सुरक्षा निकायमार्फत विवरणको जाँच गर्ने र फिल्डमा खटिएका टोलीलाई परिचालन गरेर खोजी गर्ने गरिएको उनले बताए ।

प्रकाशित मिति २०८३ भदौ २२ गते सोमबार ०२:४०
हजुरको प्रतिक्रिया