राप्रपा स्याङ्जा जिल्ला अध्यक्षमा ऋषि लामिछाने निर्वाचित
स्याङ्जा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक अहिले चक्रव्यूहमा फसेको बताएका छन् ।
राप्रपा स्याङ्जाको जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले मुलुक अहिले चक्रव्यूहमा फसेको बताउँदै देशलाई निकास दिन सबै पक्षबीच साथ, सहकार्य र एकता आवश्यक रहेकोमा जोड दिए ।
सो अवसरमा लिङ्देनले वर्तमान राजनीतिक परिस्थितिबाट मुलुकलाई अघि बढाउन सबैले सहकार्य गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद पञ्चराम गुरुङले स्याङ्जाको विकासका लागि सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
जिल्लाको विकास र समृद्धिका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा एजेन्डाका साथ काम गर्नुपर्ने उनको भनाइ थियो ।

शनिबार स्याङ्जामा सम्पन्न अधिवेशनबाट ऋषि लामिछाने जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् । लामिछाने चुनावी प्रक्रियामार्फत जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष ऋषि लामिछानेले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जिल्लामा राप्रपाको संगठन विस्तार र जनताका सरोकारका विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
अधिवेशनमा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजङ गुरुङ, केन्द्रीय कोषाध्यक्ष नीलकण्ठ काफ्लेलगायतका केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति २०८३ भदौ २३ गते मंगलबार ०३:१६




