पोखरा ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन–जी आन्दोलका शहीद तथा घाईतेहरुको माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छिन् ।
जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गरेकी हुन् ।
उनले जेन–जी आन्दोलनका माग सम्बोधन दैनिक छलफल भईरहेको बताइन् । लोकतन्त्रमा पनि गत भदौ २३ गते नागरिकमाथी गोली चलेको उल्लेख गर्दै अब त्यस्तो नियति कसैले भोग्न नपर्ने उनले बताइन् ।
उनले शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबैलाई एक ठाउँमा आएर एकअर्कालाई सहयोग गर्न र ढाडस दिन पनि आग्रह गरिन् ।
जेन–जीभित्रै विभाजन र दोषारोपण बढेमा आन्दोलनका विरोधीहरूले त्यसको फाइदा उठाउने उनको भनाई छ । आन्दोलनपछि भएको निर्वाचनमार्फत नेपाली जनताले आफ्नो नेतृत्व रोजेकोले वर्तमान सरकार जनताको आवाज सुन्न तयार रहेको बताइन् ।
सरकार गठन भएको करिव पाँच महिना मात्र भएको बताउँदै उनले यस अवधिमा सरकार सञ्चालन सहज नभएको उल्लेख गरिन् ।
सरकारसँग प्रतिनिधिसभामा पर्याप्त संख्या भएपनि कानून निर्माण लगायतका प्रक्रियामा संवैधानिक संरचनाका कारण चुनौती रहेको उनको भनाई छ ।
उनले माग सम्बोधनमा ढिलाइ हुँदा जेनजी समुदायको धैर्य टुट्ने अवस्था आउनसक्ने स्वीकार गर्दै संयम कायम राख्न आग्रह गरिन् ।
सरकारले जेन–जी आन्दोलनका शहीद तथा घाइतेले देखेका सपना पूरा गर्न सरकारको सफा नियतका साथ काम गरिरहेको उनको भनाई छ ।
उनले भने, ‘यो स्मृति दिवसमा हामी सबैले सङ्कल्प गर्नुपर्छ कि २३ गतेको जस्तो नियति यो देशमा अब कहिले पनि हामी कसैले पनि भोग्न नपरोस्, कोही आमाले पनि भोग्न नपरोस्, कोही परिवारले पनि भोग्न नपरोस् । यहाँहरूका मागहरू धेरै छन् । ती मागहरू सम्बोधन गर्नको लागि हामी हरेक दिनजसो अहिलेको सरकारमा रहनुभएका मन्त्रीहरू, अहिलेका संसदमा रहनुभएका सांसदज्युहरू हरेक दिनजसो कुनै न कुनै तवरले हामी भेटिरहेका छौँ, सरसल्लाह गरिरहेका छौँ, हामी कसरी सहयोग गर्न सक्छौँ । हामीलाई सरकारको संरचनाभित्र काम गर्ने तौरतरिकाहरू जान्नकै लागि पनि थोरै समय लागेकै हो । यहाँहरूको धैर्यताको बाँध पक्कै पनि अलिकति फुट्ने अवस्थामा हो कि भन्ने कुरा अनुमान लगाउन सकिन्छ । तर यति भन्छु, जुन पीडा तपाईंहरूलाई भएको छ, त्यो त्यत्तिकै पीडा हामीहरूलाई पनि छ । हामी पनि त्यति चैनले निदाउन सकिरहेका छैनौँ । त्यसकारणले दिन पक्कै पनि आउँछ । तपाईंहरूकै साथमा छौँ, तपाईंहरूले भनेका हरेक विषयलाई हामीले पूरा गर्नको लागि कसरी सही ढङ्गले गर्न सकिन्छ भनेर हरबखत छलफल गरिरहेका छौँ, प्रयत्न गरिरहेका छौँ । ढिलो–चाँडो सबै कुरा ठीक ठाउँमा आउँछ, सिर्फ धैर्यता राखिरहनुप¥यो, एक ठाउँमा बसिरहनुप¥यो, एकआपसमै लड्न थाल्यौँ, एकआपसमै दोषारोपण गर्न लाग्यौँ भनेदेखिन् त विरोधीहरू जो हाम्रो विरोधमा, जो हाम्रो फुटमा खुशी हुन्छन्, तिनीहरूले स्पेस पाउँछन् । त्यसकारणले सही मान्छेहरू एक ठाउँमा उभिरहनुप¥यो, एकआपसलाई धैर्यता र साहस दिइरहनुप¥यो, हिम्मत दिइरहनुप¥यो । त्यसो भयो भनेदेखि यो देश पक्कै पनि बन्छ । हामीले नियत सफा राख्यौँ भनेदेखि देश बन्न धेरै समय लाग्दैन । यति भन्छु, यो सरकार सफा नियतसहित आएको छ । तपाईंहरूले भनेका हरेक सपनाहरू, हाम्रा सहिदले देखेका हरेक सपनाहरू, घाइते साथीहरूले देख्नुभएका हरेक सपनाहरू पूरा गर्नको लागि यो सरकार पूर्ण रूपमा प्रतिवद्ध छ । हामी बिस्तारै गर्दैछौँ, सबै कुरा व्यवस्थित तरिकाले गर्दैछौँ, ठीक तरिकाले गर्दै छौँ । यो सरकारमाथि विश्वास राख्नुस्, यो सरकारले गर्छ ।’
उनले देशमा भइरहेको भ्रष्टाचार र सशासनविरुद्ध आवाज उठाउँदा गोली खानु परेको बताइन् ।
भदौ २३ गते आन्दोलनकारीमाथी राज्यले गरेको दमनका कारण भदौ २४ गतेको घटना निम्तिएको उनको भनाई छ । भदौ २३ र २४ गतेको घटनालाई एउटै रुपमा हेर्न नहुने उनले बताइन् ।
प्रकाशित मिति २०८३ भदौ २३ गते मंगलबार ०३:२८




