२०८३ असोज २३ गते शुक्रबार

शहीदको रगत खेर जान दिँदैनौं, भ्रष्टको कठालो समातेर कारबाही गर्छौंः सांसद सुनार

शहीदको रगत खेर जान दिँदैनौं, भ्रष्टको कठालो समातेर कारबाही गर्छौंः सांसद सुनार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २३ गते मंगलबार ०३:३४

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेन–जी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने बताएका छन् । जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले सुशासनको...

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेन–जी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने बताएका छन् ।

जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले सुशासनको पक्षमा आवाज उठाउँदा ज्यान गुमाएका शहीदहरुको बलिदान खेर जान नदिने बताएका हुन् ।

उनले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध कठोर भएर लाग्ने बताए । पूर्व वा बहालवाला जुनसुकै पदाधिकारी भएपनि भ्रष्टाचार गरेको प्रमाणित भएमा कारबाही हुने उनको भनाई छ ।

१ रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भएमा प्रत्येकको कठालो समातेर कारबाही गर्ने उनको दाबी छ ।

उनले शहीदका परिवार, घाइते तथा आन्दोलनका माग पूरा गर्न सरकारलाई आग्रह पनि गरे । उनले जेन–जी शहीदका कारण देशमा नयाँ सुशासनको आधार बनेको दाबी गरे ।

उनले भने, ‘आमा तिमीलाई लागेको होला मेरो गर्भबाट जन्मेको छोरो म¥यो, म एक्लो परेँ । होइन आमा, तिम्रो छोरो मरेको होइन । तिम्रो छोरो यो समाजमा, यो देशमा एउटा बिउ बनेर रोपिएको छ । तिम्रो छोरो म¥यो, नयाँ सुशासनको वृक्ष उम्रिएको छ । तिम्रो छोरो बिउ बनेर रोपिएपछि नयाँ सुशासनका वृक्षहरु उम्रिएको हो । तिम्रो गर्भमा, तिम्रो गर्भमा सपूतले बास गरेको रहेछ, कपूतले बास गरेको होइन । म तिम्रो गर्भलाई यहाँबाट प्रणाम गर्न चाहन्छु । शहीद, सन्त र सिपाही सबैको गर्भमा जन्मिदैनन् । तिम्रो गर्भले यो देशलाई एउटा न्याय दिने छोरो जन्माएको छ । तिम्रो गर्भबाट यो देशलाई एउटा उज्यालो किरण छर्ने छोरो जन्मेको छ । स्याबास् आमा ! धन्यवाद आमा जसले शहीद जन्माउनु भयो । तिम्रो छोरो ढल्यो, यो देश उठ्यो । तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो । तिम्रो छोरो ढलेको कारण यो देशले सिटामोलको गोली खान पाएको हो । कतै कतै कसैले खिन्न मन गर्नु पर्दैन, कतै कसैले कमजोर मन गर्नु पर्दैन । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा एउटा सरकार बनेको छ । अहिले बजारमा कतै कतै हल्ला चलाएका छन्, यसले माग सम्बोधन गर्छ कि गर्दैन ? जिम्मा लिन्छ कि लिदैन ? गर्छ यो सरकारले माग सम्बोधन, यो देशको जिम्मा लिन्छ, घाइतेको जिम्मा लिन्छ, शहीदको जिम्मा लिन्छ, प्रत्येक आमाहरुको जिम्मा लिन हामी तयार भएर आएका छौं । बजारमा हुइँया मच्चाएका छन्, आलाकाँचा केटाहरु आएका छन्, संसदलाई कतै गलत बाटोमा लिन्छन् कि, सरकारलाई कतै गलत बाटोमा लिन्छन् कि, हामी आला हौंला, काँचा हौंला, तर कुहिएका छैनौं आमा ! ढुक्क हुनु, सुखले बाँच्ने दिन आउँदैछ । यो सरकार, यो सरकार प्रष्टको सरकार हो, भ्रष्टको सरकार होइन । सुशासन कायम गर्न र भ्रष्टाचारको विरुद्धमा लड्न कहाँबाट कतिबेला कसरी लड्नुपर्छ ? चाहे पूर्व हुन्, चाहे बहालवाला हुन्, चाहे हिजोका हुन्, चाहे आजका हुन्, जसले १ रुपैयाँ पनि भ्रष्टाचार गरेको छ, प्रत्येकको कठालो समातेर कारबाही हुनेछ । सबै ठाउँमा हुनेछ, हिसाव हुनेछ, एक एक गनेर हिसाव हुनेछ, खनखनी गनेर हिसाब हुनेछ ।’

सरकारको नेतृत्व र नयाँ राजनीतिक शक्तिमाथि उठिरहेका प्रश्न उठेको बताउँदै उनले आफूहरू अनुभवका हिसावले नयाँ भएपनि भ्रष्ट नभएको दाबी गरे ।

उनले जेन–जी आन्दोलनका सहभागी र शहीद परिवारलाई निराश नहुन पनि आग्रह गरे ।

प्रकाशित मिति २०८३ भदौ २३ गते मंगलबार ०३:३४
हजुरको प्रतिक्रिया