पोखरा ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले जेन–जी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनका उपलब्धिको रक्षा गर्न गर्न सक्यो कि सकेन ? भन्दै प्रश्न गरेकी छिन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले जेन–जी आन्दोनभावनाअनुसार मुलुक अगाडि बढ नबढेको विषयमा समीक्षा हुन आवश्यक रहेको बताइन् ।
उनले २३ भदौको आन्दोलन जेन–जीहरूको भएपनि २४ भदौमा आन्दोलन हाइज्याक भएको दाबी गरिन् । उनले आन्दोलन कब्जा गरी सयौँ वर्ष लगाएर निर्माण गरिएको देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको संरचना ध्वस्त पारिएको बताइन् ।
उनले मंगलवा शहिद दिवसका दिन माईतीघर मण्डलामा लक्ष्मीदेवीले आत्मदाहको प्रयास गरेको घटनाप्रति गम्भीर हुनुपर्ने बताइन् ।
उनले नागरिकलाई आत्महत्या गर्नुपर्ने अवस्थासम्म पुर्याउने वातावरण किन निर्माण भयो ? प्रश्न गरिन् ।
उनले भने, ‘जेन–जी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनका उपलब्धीको रक्षा गर्न सक्यो कि सकेन ? त्यो ठूलो चुनौतीको विषय बनेको छ । २३ भदौको आन्दोलन साच्चिकै जेन–जीहरुको आन्दोलन थियो । २४ गते जेनजी आन्दोलनलाई हाइज्याक गरियो । र हामीले सयौँ वर्ष लगाएर बनाएका संरचना ध्वस्त बनाए । हिजो शहिद दिवस मनाउँदै गर्दा लक्ष्मीदेवीले आत्मदाहको प्रयास गर्नुभएको घटनामा म गम्भीर छुँ । किन आज नागरिकलाई आत्महत्या गर्नुपर्नेसम्मको वातावरण निर्माण गरियो ? घाइतेहरुको उपचार किन भएन ? आज किन शहीदका सपना पूरा हुन सकेनन् ? २४ गते सिंहदरबार जलाउने को थियो ? जेनजीहरुले आज २४ भदौको ध्वंसको जिम्मा लिँदैनौँ भनिरहेका छन् ।’
उनले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् ।
प्रकाशित मिति २०८३ भदौ २४ गते बुधबार ०४:५२




