पोखरा ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपीडितमाथि साइबर बुलिङ र तुच्छ टिप्पणी गर्ने नेता कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले बाढीमा आफन्त गुमाएका नागरिकको स्वभाविक आक्रोश केन्द्रित टिकाटिप्पणी नगर्न चेतावनी दिएका हुन् ।
उनले विपद्मा परेका नागरिकमाथि प्रहार गर्ने तथा उनीहरुको पीडामाथि राजनीति गर्ने कार्य स्वीकार्य नहुने बताए ।
सभापति लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताले बाढीपीडितबारे तुच्छ टिप्पणी वा साइबर बुलिङ गरेको पाइएमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने बताए ।
उनले भने, ‘भोटेकोशी बाढीको विपद्मा शोकमा परेकाहरूमाथि साइबर बुलिङ गर्ने, शोकमा परेकाहरूमाथि प्रहार गर्ने अन्धसमर्थक हामीलाई चाहिँदैन । हामीलाई त उनीहरूको आँसु पुछ्ने मान्छे चाहिएको छ । पीडामा परेका नागरिकको चीत्कारमा आँसुको व्यापार गर्ने मानिस रास्वपालाई चाहिएको छैन । रास्वपाका नेताकार्यकर्ताहरूले पीडितहरूबारे तुच्छ टिप्पणी र साइबर बुलिङ गरेको पाइएमा कारबाही हुन्छ । यसरी टिप्पणी गर्ने जोकोहीलाई हामी पार्टीको साधारण सदस्यबाट पनि निकाल्छौँ । त्यस्ता पीडकहरू हामीलाई चाहिँदैन । पीडितहरू सरकारसँगै हो आश गरेर गुनासो गर्ने, उनीहरूको गुनासोलाई लिएर साइबर बुलिङ गर्नेहरू हाम्रा कार्यकर्ता हुन सक्दैनन् ।’
पीडितको चीत्कारमा आँसुको व्यापार गर्ने अन्धसमर्थकहरू रास्वपालाई आवश्यक नरहेको उनको भनाइ छ ।
प्रकाशित मिति २०८३ भदौ २४ गते बुधबार ०५:२२




