पोखरा, १७ असोज ।
लायन्स क्लब अफ पोखरा मर्दी हिमाल र हार्ट फर अर्थ फाउन्डेसनको मुख्य आयोजनामा सञ्चालन हुँदै आएको नियमित साप्ताहिक रक्तदान कार्यक्रमको १००औँ ९शताब्दी० सप्ताह विशेष कार्यक्रम सम्पन्न भएको छ।
“रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने नाराका साथ पृथ्वीचोक, पोखरामा आयोजित कार्यक्रममा विभिन्न लायन्स क्लब, सामाजिक संघ–संस्था, स्वयंसेवक तथा रक्तदाताहरूको सहभागिता रहेको थियो।
गत दुई वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको साप्ताहिक रक्तदान अभियानले १००औँ सप्ताह पूरा गरेको अवसरमा विशेष समारोह आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले नियमित रक्तदान अभियानले आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगत व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै यस्ता मानवीय अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रमका क्रममा अभियानलाई १००औँ सप्ताहसम्म निरन्तरता दिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्वयंसेवक तथा लामो समयदेखि नियमित रक्तदान गर्दै आएका रक्तदातालाई सम्मान गरिएको थियो।
८६ पटक रक्तदान गरिसकेका लायन तीर्थराज अवस्थी र ६८ पटक रक्तदान गरेका लायन सुजन श्रेष्ठलाई विशेष सम्मान गरिएको आयोजकले जनाएको छ। यस्तै, २०, २५ पटक तथा सोभन्दा बढी पटक रक्तदान गरिसकेका नियमित रक्तदातालाई समेत सम्मान गरिएको थियो।
आयोजकका अनुसार अभियान सफल बनाउन सहयोग गर्ने विभिन्न लायन्स क्लब, सामाजिक तथा स्वयंसेवी संस्था, व्यक्ति र रक्तदातालाई धन्यवाद ज्ञापन गरिएको छ। कार्यक्रममा प्राविधिक तथा स्वास्थ्यसम्बन्धी व्यवस्थापनमा सहयोग गरेको पोखरा रक्त सञ्चार केन्द्रप्रति समेत आभार व्यक्त गरिएको थियो।
१००औँ सप्ताहसम्मको यात्रा रक्तदान गर्ने रक्तदाता, स्वयंसेवक तथा सहयोगी संस्थाहरूको सामूहिक योगदानको उपलब्धि भएको आयोजकले जनाएको छ। आगामी दिनमा अभियानलाई थप व्यवस्थित, प्रभावकारी र व्यापक बनाउँदै निरन्तरता दिने प्रतिबद्धता समेत आयोजकले व्यक्त गरेको छ।




