पोखरा।
पोखरा महानगरपालिका–२७, ज्यामिरकुनास्थित लक्ष्मी आदर्श माध्यमिक विद्यालयको ५८औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण, सम्मान एवं विविध सांस्कृतिक समारोह २०८३ सम्पन्न भएको छ।
समारोहको उद्घाटन गर्दै पोखरा महानगरपालिका–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले राज्यले शिक्षा क्षेत्रमा गरेको लगानीको सदुपयोग गर्दै व्यावहारिक तथा प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए। उनले विद्यालयको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
गण्डकी विश्वविद्यालयका कुलपति प्रा।डा। इन्द्रप्रसाद तिवारीले विद्यालयमा प्राविधिक शिक्षाको विस्तार आवश्यक रहेको उल्लेख गर्दै शैक्षिक सुधार तथा प्राविधिक शिक्षा सञ्चालनमा विश्वविद्यालय सहकार्य गर्न तयार रहेको बताए।
विद्यालयका प्रधानाध्यापक शिवमणि भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गुणस्तरीय शिक्षा, सूचना प्रविधिमा आधारित शिक्षण विधि, प्रयोगात्मक सिकाइ तथा खेलकुदलाई प्राथमिकता दिइएको जानकारी दिए। विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष ईश्वरी लामिछानेले नयाँ संकाय तथा विषय थप गर्ने र प्रविधिमैत्री शिक्षालाई विस्तार गर्ने योजना सुनाइन्।
कार्यक्रममा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। पूर्वप्रधानाध्यापक वेदनाथ ढुङ्गानालाई शैक्षिक पुरस्कार तथा सामाजिक क्षेत्रमा सर्वस्वदान गर्ने रेवतीरमण पौडेल र शान्ता पौडेललाई सामाजिक पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै, पूर्वविद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पूर्वप्रधानाध्यापक, शिक्षक, समाजसेवी तथा शिक्षाप्रेमीलाई सम्मान गरिएको थियो। उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको विद्यालयले जनाएको छ।
समारोहमा विद्यार्थीहरूले नृत्य, गायन, भजनचुड्का, नाटक तथा पीटी प्रदर्शनलगायत विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। विभिन्न कक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो।
वि।सं। २०२५ सालमा स्थापना भएको विद्यालयमा हाल करिब एक हजार विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन हुँदै आएको छ ।




