पोखरा ।
कर्णाली प्रदेशमा अर्को सातादेखि प्रतिष्पर्धा शुरु हुने दशौं राष्ट्रिय खेलकुदको भौतिक पूर्वाधार ७० प्रतिशत मात्र काम पूरा भएको छ ।
मूलआयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशौं खेलकुदको तयारीबारे आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशासनिक काम ९९ प्रतिशत पूरा भए पनि भौतिक पूर्वाधार ७० प्रतिशत मात्र सम्पन्न भएको छ ।
कर्णाली प्रदेशमा मंसिर १६ देखि २७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ । तर उद्घाटन हुनुअघि नै ९ वटा खेल सकिनेछ । यसपल्ट कुल ३२ वटा खेलका लागि प्रतिस्पर्धा सुरु हुँदैछन् । तथापि अहिलेसम्म पनि भौतिक पूर्वाधार पूर्णरूपमा सम्पन्न हुन सकेको छैन ।
कर्णाली प्रदेश रंगशालामा उद्घाटन समारोह आयोजना हुँदै छ । अहिलेसम्म उक्त रंगशाला पनि सरकारको मातहतमा आएको छैन ।
निर्माण कम्पनीले हस्तान्तरण नगरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्विकार गरेको छ । आगामी ६÷७ गते सम्म सरकारले पाउने राखेपको दाबी छ ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताले सात प्रदेश, तीन विभागीय टोली नेपाल आर्मी, एपिएफ, पुलिस तथा एनआरएनएले प्रतिष्पर्धा गर्ने बताए ।
तीन तहका सरकारले आयोजनाका लागि काम गरेकाले दशौं राष्ट्रिय खेलकुद भव्य रूपमा आयोजना हुने मेहताको दाबी छ । केही प्रदेशमा बन्द प्रशिक्षण भइसकेको उनको भनाइ छ ।
सदस्यसचिव मेहताले ९९ प्रतिशत प्रशासनिक काम र पूर्वाधारको काम ७० प्रतिसत पूरा भएको बताए । ११ वटा टोलीले ३२ वटा खेलमा प्रतिस्पर्धा गर्ने तय भए पनि कुनै प्रदेशले कम खेलमा प्रतिस्पर्धा गर्ने राखेपको भनाइ छ ।
टिम खेलमा लामो समय लाग्ने र बासस्थानको अभावका कारण ८ गते नै प्रतिष्पर्धा शुरु गर्न लागिएको उनी बताउँछन् । विगतका भन्दा यसपल्ट राष्ट्रिय खेल लामो समयसम्म सञ्चालन हुनेछ ।
कर्णाली प्रदेशमा मात्र खेल सञ्चालन हुने छैन । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदलाई भव्य रूपमा सम्पन्न गर्न तीनै तहका सरकारको जिम्मेवारी रहेको बताए ।
२३ वटा खेल मात्र कर्णाली प्रदेशमा आयोजना हुने मन्त्री मल्लले उल्लेख गरे ।
कर्णाली प्रदेशभित्र २८ वटा खेल हुनेछन् । बाँकी चार खेल पौडी, सुटिङ, खोखो र टेनिस भने लुम्बिनी प्रदेशमा हुनेछन् । आवश्यक पूर्वाधार अभावका कर्णाली प्रदेशबाहिर हुन लागेको हो ।
दशौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक जित्ने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । व्यक्तिगत प्रतिष्पर्धातर्फ स्वर्ण पदक विजेता खेलाडीले २० हजार रुपैयाँ दिइने जनाइएको हो ।
रजत पदक विजेताले १५ हजार रुपैयाँ र कांस्य पदक विजेताले आठ हजार रुपैयाँ पाउनेछ । टिम प्रतिस्पर्धातर्फ स्वर्ण, रजत र कांस्य पदक विजेतालाई क्रमशः १५ हजार, १० हजार र आठ हजार रुपैयाँ प्रदान गरिने राखेपले जनाएको छ ।
राखेपले यस विधामा रजत र कास्य जित्नेलाई पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको जनाएको छ ।
प्रतियोगितामा ३२ खेल समावेश छन् । ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल १३३७ पदकका लागि प्रतिष्पर्धा हुनेछ ।
सरकारले ४४ करोड १० लाख रुपैयाँ दशौं खेलकुदका विनियोजन गरिसकेको छ ।
राखेपले आयोजनाका लागि ७२ करोड आवश्यक पर्ने सरकार समक्ष प्रस्ताव गरेको थियो ।
प्रकाशित मिति २०८३ मंसिर ४ गते बिहीबार ०४:०७





