काठमाडौँ ।
प्रतिनिधि सभाका सांसदहरुले प्रश्तावित मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक–२०८३ मा ‘वेश्यावृत्ति’ शब्द राखिएकोमा आपत्ति जनाएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको दफावार छलफलमा बोल्दै संशोधनकर्ता सांसदहरुले यस्तो आपत्ति जनाएका हुन् ।
‘वेश्यावृत्ति’ शब्दले विशेषगरी महिलालाई अपमानित गर्ने र लैंगिक विभेदलाई प्रश्रय दिने भन्दै उक्त शब्द हटाउन उनीहरुको माग छ । सांसदहरूले शब्दावली परिवर्तनदेखि यौन शोषण र श्रम शोषणको परिभाषा बनाउनुपर्ने धारणा समेत राखे ।
बैठकमा नेपाली काँग्रेसकी सांसद मनमाया विश्वकर्माले विधेयकमा ‘वेश्यावृत्ति’ शब्द हटाएर त्यसको सट्टामा ‘देह व्यापार’ शब्द राख्न माग गरिन् ।
उक्त शब्दले विशेषगरी महिलालाई लक्षित गरी अपमानित गर्ने र शोषणलाई संस्थागत गर्ने अवस्था सिर्जना गरेको उनको तर्क छ । उनले समाज र कानुनमा समेत महिलालाई बढी इंगित गर्ने भएकाले लैंगिक रूपमा सम्मानजनक शब्दावली प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘मैले विधेयकमा वेश्यावृत्ति भन्ने शब्दको सट्टा देह व्यापार भन्ने शब्द राख्नुपर्छ भनेर संशोधन प्रश्ताव राखेको छु । यो वेश्यावृत्ति भन्ने शब्द हाम्रो लैंगिक ग्रुपमा ह्यारेस गर्ने र शोषण गर्ने भएको कारण यो शब्द हटाइनुपर्छ । हाम्रो समाज र हाम्रो कानूनमा समेत एउटा लिंग खासगरी महिलालाई धेरै इंगित गर्ने भएको कारणले गर्दाखेरी यो शब्दलाई हटाएर यसको सट्टामा देश व्यापार भन्ने शब्द राखौँ ।’
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गणेशबहादुर विश्वकर्माले दलित समुदायका वादी महिलामाथि हुने शोषणलाई वेश्यावृत्तिका रूपमा नभई यौन शोषणका रूपमा परिभाषित गरी नियन्त्रण गर्न माग राखे ।
उनले जबरजस्ती यौन कार्यमा लगाउने, यौन कार्य गर्न बाध्य बनाउने तथा श्रम शोषण गर्ने कार्यलाई स्पष्ट रुपमा परिभाषित गरी नियन्त्रण गर्नेगरी ऐन निर्माण गर्नुपर्ने बताए ।
साथै, व्यक्तिको इच्छाविपरीत धम्की, आक्रमण, कैद वा अन्य शारीरिक तथा मानसिक दबाबका माध्यमबाट श्रम गर्न बाध्य बनाउने कार्यलाई समेत कानूनको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘दलित समूदायमा वादी महिलाहरुमाथि गरिने शोषण जुन छ त्यो यौन कार्य पनि होइन, वेश्यावृत्ति पनि होइन त्यो यौन शोषण हो । त्यसो भएको हुनाले महिलामाथिको हिंसा तथा जबरजस्ती यौन कार्यमा लगाउने वा यौन कार्य गर्न बाध्य बनाउने कुरालाई यौन शोषणको परिभाषाभित्र राख्नुपर्छ । अनि श्रम शोषण वा प्रचलित कानूनबमोजिम बाहेक अरुको अंग झिक्ने वा मानव तन्तुको बेचबिखन वा तस्करी गर्ने र जबरजस्ती श्रममा लगाउने कार्यलाई एउटै परिभाषाभित्र राख्नुपर्छ । अनि कुनैपनि व्यक्तिलाई आक्रमण, धम्की वा कुनैपनि व्यक्तिको इच्छाविपरित सामाजिक बन्धन, आक्रमण, कैद वा अन्य मानसिक वा शारिरिक स्वतन्त्रतालाई अनुचित रुपमा बन्धन गर्ने साधनहरु प्रयोग गरी श्रमिकको स्वतन्त्र काम गर्ने अधिकार कुुण्ठित गर्ने कार्यलाई समेत नियन्त्रण गर्नुपर्छ भनेर मैले संशोधन प्रश्ताव राखेको छु ।’
नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले ‘वेश्यावृत्ति’ शब्द महिलालाई गालीगलौज र अपमान गर्न प्रयोग हुने गरेको तर्फ समितिको ध्यानाकर्षण गराइन् ।
उनले यौन व्यवसायलाई पेसाका रूपमा परिभाषित गर्न खोजिएको हो वा नियन्त्रण गर्न खोजिएको हो भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्ने बताइन् ।
यौन व्यवसायलाई पेसागत मान्यता दिन खोजिएको हो भने त्यसबाट हुने फाइदा, कानुनी आधार र नियमनको विषयमा गम्भीर बहस आवश्यक रहेको उनको भनाइ छ ।
उनले भनिन्, ‘अहिले हाम्रो समाजमा महिलालाई सबैभन्दा तल्लो स्तरमा गएर गालीगलौज गर्ने शब्द नै वेश्यावृत्ति हो । यो शब्दलाई सुधार गरेर कुनै सम्मानित शब्दको प्रयोग गर्न सकिन्छ । अर्को कुरा, नेपाल सरकारले यौन व्यवसायलाई पेसाकै रुपमा लैजाने हो भने भने यसले के फाइदा गर्छ ? यसलाई परिभाषित गरेर सरकारले पेसागत व्यवसायको रुपमा लैजान खोजेको हो कि नियन्त्रण गर्न खोजेको हो ? यो विषयलाई गम्भीर बहसको विषय समेत बनाइनुपर्छ । अनि लुकिछिपि गरेर पेसागत व्यवसाय हुन्छ ? के यौन व्यवसायलाई नेपाली कानूनले मान्यता दिएको छ ? यो त अवैध हो नि त ?’
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले पनि विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राख्न नहुनेमा जोड दिइन् ।
भौगोलिक रूपमा पछाडि परेका तथा आर्थिक रूपमा विपन्न महिलालाई प्रलोभन र दबाबमा पारेर यौन व्यवसायमा लगाइने गरेको उल्लेख गर्दै उनले यस्तो शब्दले बेचबिखनमा परेका महिलालाई थप अपमानित गर्ने बताइन् ।
उनले भनिन्, ‘अहिले पनि भौगोलिक रुपमा पछाडि रहेका तथा विपन्न महिलाहरुलाई ट्र्यापमा पारेर यौन व्यवसायमा लगाइएको पाइन्छ । अनि त्यो वेश्यावृत्ति शब्दमार्फत अपमानित गरेको पाइन्छ । बेचबिखनमा परेका महिलाहरुलाई उद्धार गरेर ल्याइसकेपछि उसको परिवारका सदस्य र उ आफैं पनि धेरै अपमानित र अपहेलित भएर बस्नुपरेको हुन्छ । त्यसो भएको हुनाले यो शब्द राख्नुहुन्न ।’
बैठकमा बोल्ने अधिकांश सांसदहरुले विधेयकमा यौन शोषण, श्रम शोषण र मानव बेचबिखनका विभिन्न स्वरूपलाई नियन्त्रण गर्नेगरी अघि बढाउनुपर्ने धारणा राखे ।
प्रकाशित मिति २०८३ मंसिर ४ गते बिहीबार ०३:५७





