पोखरा ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल दक्षिण र मध्य एसियाबीचको महत्वपूर्ण सभ्यतागत सेतुका रूपमा रहेको बताएका छन्। भारत र चीनबीच अवस्थित नेपालले गङ्गाको मैदान र तिब्बती पठारलाई जोड्दै व्यापार, तीर्थयात्रा, ज्ञान र संस्कृतिको आदानप्रदानमा ऐतिहासिक भूमिका निर्वाह गरेको उनको भनाइ छ।
भारतको नयाँ दिल्लीमा आयोजना भइरहेको पहिलो एससीओ सभ्यतागत संवादमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले नेपालको सभ्यतागत इतिहास, धार्मिक तथा सांस्कृतिक विविधता र विश्व सभ्यतामा पुर्याएको योगदान प्रस्तुत गरे।
उनले सभ्यता भौगोलिक सीमा, स्मारक वा राज्यसत्ताको इतिहासमा मात्र सिमित नहुने उल्लेख गर्दै विचार, दर्शन, भाषा, आस्था, संस्कृति र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञानको जीवन्त निरन्तरता भएको बताए। नेपाल पनि शताब्दीयौँदेखि विभिन्न सभ्यता, भाषा, धर्म र संस्कृतिबीचको अन्तरसम्बन्धको महत्वपूर्ण हिस्सा रहँदै आएको उनले उल्लेख गरे।
नेपाल १४२ जातजाति तथा समुदाय र १२४ मातृभाषाको साझा भूमि रहेको उल्लेख गर्दै पौडेलले प्राचीन खस, किरात, मिथिला र नेवार सभ्यतादेखि आदिवासी जनजाति तथा स्थानीय मौलिक परम्परासम्मको विविधता नेपालको पहिचान भएको बताए। हिन्दु, बौद्ध, किरातलगायतका आध्यात्मिक परम्परा शताब्दीयौँदेखि सहअस्तित्वमा रहँदै आएको भन्दै उहाँले यो विविधता नेपालको सांस्कृतिक सम्पदा र राष्ट्रिय पहिचानको आधार भएको बताए।
उनले नेपाललाई भगवान् गौतम बुद्धको जन्मभूमिका रूपमा चिनाउँदै लुम्बिनीबाट शुरु भएको शान्ति, करुणा, अहिंसा र मध्यम मार्गको सन्देश एशियाभर फैलिएको बताए। बुद्धको शिक्षाले आज पनि सम्पूर्ण मानवतालाई प्रेरित गरिरहेको उल्लेख गरे।
नेपाल र भारतबीचको साझा सभ्यतागत सम्बन्धबारे चर्चा गर्दै मन्त्री पौडेलले माता सीताको जन्मभूमि तथा राजा जनकको दार्शनिक विरासतसँग जोडिएको मिथिलालाई प्राचीन ज्ञान, चिन्तन र विमर्शको महत्वपूर्ण केन्द्र भएको जिकिर गरे। नेपालको गण्डकी क्षेत्रसँग परम्परागत रूपमा जोडिने महर्षि वेदव्यास भारतीय उपमहाद्वीपको बौद्धिक तथा आध्यात्मिक चेतनाका केन्द्रिय व्यक्तित्व रहेको पनि उनले उल्लेख गरे।
त्यसैगरी, नेपाली कलाकार तथा वास्तुविद् अरनिकोले नेपालको कला र शिल्पकौशललाई तिब्बत, चीन हुँदै मङ्गोलियासम्म पुर्याएको बताए। उनीसँगै गएको नेवार कला र शिल्प परम्पराले ती क्षेत्रको कला तथा वास्तुकलामा दीर्घकालीन प्रभाव पारेको उनको भनाइ छ। यी ऐतिहासिक सम्बन्धले एशियाली सभ्यताहरू एकअर्काबाट अलग रहेर नभई निरन्तरको सम्पर्क र आदानप्रदानबाट विकसित भएको पुष्टि गर्ने उनले बताए।
सिख परम्पराअनुसार गुरु नानक देवले पशुपतिनाथको दर्शन गरेको प्रसङ्ग उल्लेख गर्दै उनले पशुपतिनाथ परिसरमा रहेको ऐतिहासिक भष्मेश्वर गुरु नानक मठमा गुरु ग्रन्थ साहिबको हस्तलिखित प्रति सुरक्षित रहेको जानकारी दिए।
यस्तै, बौद्ध पर्व मुखाष्टमीका अवसरमा पञ्चभूत बुद्धको प्रतीकात्मक मुकुट शिवलिङ्गमा अर्पण गर्ने परम्पराले नेपालमा विभिन्न धार्मिक आस्थाबीच रहेको सहअस्तित्वलाई उजागर गर्ने उनको भनाइ छ। उनले स्वयम्भूनाथ, बौद्धनाथ र मुक्तिनाथलाई पनि धार्मिक आस्था, तीर्थयात्रा र सांस्कृतिक आदानप्रदानका जीवन्त केन्द्र भएको बताए।
मन्त्री पौडेलले सभ्यतामा नेपालको योगदान धार्मिक आस्था र कलामा मात्रै सीमित नभई ज्ञान, दर्शन र साहित्यको संरक्षणमा समेत महत्वपूर्ण रहेको बताए। नालन्दा र तक्षशिलाजस्ता प्राचीन बौद्ध ज्ञानकेन्द्रहरू ध्वस्त पारिएका कठिन समयमा शान्तरक्षित र पद्मसम्भवलगायतका बौद्ध भिक्षु तथा विद्वान्हरूले नेपालमा आश्रय लिएको र महत्वपूर्ण ग्रन्थ तथा पाण्डुलिपिहरू यहाँ सुरक्षित राखिएको ऐतिहासिक परम्परा रहेको उनले उल्लेख गरे।
प्रकाशित मिति २०८३ मंसिर ६ गते शनिबार ०३:३६





