२०८३ मंसिर १० गते बुधबार

प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ भनेर कानून निर्माण गर्न थाल्यौँ भने ठूलो दुर्घटनामा पर्छौँः मन्त्री तिमिल्सिना

प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ भनेर कानून निर्माण गर्न थाल्यौँ भने ठूलो दुर्घटनामा पर्छौँः मन्त्री तिमिल्सिना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर ९ गते मंगलबार ०३:४०

संघीयताअनुसार अधिकार बाँडफाँड गरेर मात्र प्रभावकारी काम हुन नसक्ने भन्दै उनले तीन तहको सरकार एकअर्काका परिपूरक हुनेगरी ऐन निर्माण गर्नुपर्नेमा जोड दिए ।

काठमाडौँ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप तथा प्रविधि र विस्तारित भूमिकालाई सम्बोधन गर्नेगरी ऐन निर्माण गर्न लागिएको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चलचित्र विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

चलचित्रलाई मनोरञ्जनको साधनको रुपमा मात्र नभई कला, संस्कृति, भाषा प्रवद्र्धनका साथै आर्थिक विकासमा योगदान प¥ुयाउने उद्योगको रुपमा विकास गर्नुपर्नेमा उनको जोड छ ।

मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रसँग सम्बन्धित संस्थाहरूको अवस्था बेहाल रहेको उल्लेख गर्दै संस्थागत सुधार र नेतृत्वको क्षमता विकासमा दिए ।

उनले चलचित्रको क्षेत्रको विकासका लागि संस्थाको अध्यक्ष क्षमातावान हुनुपर्नेमा जोड दिँदै सोहीअनुसार योग्यता तय गरिनुपर्ने समेत बताए ।

चलचित्र क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच अधिकार र जिम्मेवारीको स्पष्ट बाँडफाँट हुनुपर्ने उनको भनाइ छ ।

संघीयताअनुसार अधिकार बाँडफाँड गरेर मात्र प्रभावकारी काम हुन नसक्ने भन्दै उनले तीन तहको सरकार एकअर्काका परिपूरक हुनेगरी ऐन निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘मैले सरकारको प्रतिनिधिको रुपमा आजसम्म आएर यहाँ हेर्दाखेरी सबै संस्थाहरु बेहाल अवस्थामा छन् । कुनैपनि संस्थाहरुमा इम्पावरमेन्ट नै छैन । संस्था प्रमुखहरुमा समेत क्यापेसिटी नै छैन । त्यसकारण संस्था मरेको हो कि बाँचेको हो जस्तो भएको छ । अब त्यो संस्थाको प्रमुखलाई चाहीँ कस्तो बनाउने भन्ने कुरा तपाईंहरुको हातमा आइपुगेको छ । यो अध्यक्षको योग्यताको विषयमा । अर्को, प्रदेश सरकारले चलचित्रसँग सम्बन्धित कति कुरा गर्न मिल्छ वा ऐनमा समावेश गर्न मिल्छ भन्ने कुरा एउटा कुरा भयो । हामीले चलचत्रीसम्बन्धी काम गर्न प्रदेशलाई बन्देज गर्न मिल्छ कि मिल्दनै होला ? प्रदेशले कति काम गर्ने भन्ने कुरामा प्रदेशले आफ्नै कानून बनाउने भन्ने कुरा पनि हो कि । संघको कानूनसँग नबाँझिनेगरी कानून बनाउन पाओस् । हामीले प्रदेशको अधिकारमा अंकुश लगाउनु भएन । तर हामी संघीय व्यवस्थामा छौँ, केही न केही अधिकार त तल्लो तहमा दिनैप¥यो भनेर कानून बनाउन थाल्यौँ भने ठूलो दुर्घटनामा पर्नसक्छौँ । एकअर्काको परिपुरक हुनेगरी अधिकार बाँडफाँड गर्यौँ भने यो प्रभावकारी हुँदो रहेछ । नत्र हुँदैन । हामीले समग्रमा गर्न खोजेको के हो भने देशको चलचित्र क्षेत्रको विकास गर्न खोजेको हो । यसमा संघ, प्रदेश र स्थानीय तीन तहको सरकारले योगदान गर्नुप¥यो ।’

संघीयताको मर्मअनुसार तल्लो तहमा समेत अधिकार दिनैपर्छ भनेर कानून निर्माण गर्न थालियो भने देश ठूलो दुर्घटनामा पर्ने उनको तर्क छ ।

प्रकाशित मिति २०८३ मंसिर ९ गते मंगलबार ०३:४०
हजुरको प्रतिक्रिया