उरुग्वेका स्टार स्ट्राइकर लुइस सुआरेज स्पेनिस क्लब बार्सिलोनाबाट प्रतिस्पर्धी स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा आबद्ध भएका छन् । सआरेजलाई एट्लेटिकोले ६ मिलियन युरोमा २ वर्षको सम्झौता गरेको हो ।
बार्सिलोनाले सुआरेजलाई एट्लेटिको म्याड्रिडमा आबद्ध हुन बुधबार मात्र अनुमति थियो । यसअघि बार्सिलोनाले उरुग्वेका फरवार्ड सुआरेजलाई आफ्नो प्रतिद्वन्द्वी क्लबमा जानका लागि सहमति दिएको थिएन ।
यसअघी सुआरेज इटालियन क्लब युभेन्ट्समा आबद्ध हुने प्रक्रियामा थिए । तर उनी पासपोर्टका कारण रोकिनु पर्यो ।
सुआरेज सन् २०१४ मा ७४ मिलियन पाउन्डमा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोनामा आबद्ध भएका थिए। त्यसयता उनले बार्सिलोनाका लागि २८३ खेल खेल्दै १९८ गोल गरे । लिभरपुलबाट बार्सिलोना पुगेसँगै उनको करिअरले गति लिएको थियो। मेसी र नेइमारसँग उनको जोडी खुब जमेको थियो ।
तीन जनाको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले सन् २०१४-१५ को सिजनमा च्याम्पियन्स लिग, लिग कप र ला लिगा जितेको थियो । त्यसबाहेक सुआरेजले थप तीन पटक ला लिगा र तीन पटक कोपा डेल रेको उपाधि उचाल्ने अवसर पाए। यस्तै उनले दुई स्पेनिस सुपर कप, युइएफए सुपर कप र क्लब विश्वकप पनि जिते।
तर पछिल्ला वर्षमा सुआरेज र मेसीले बार्सिलोनामा प्रभाव जमाउन सकेनन्। जसका कारण बार्सिलोनाले च्याम्पियन्स लिग जित्न सकेन। गत सिजन ला लिगामा बार्सिलोना चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडसँग पछि परेको थियो।
प्रकाशित मिति २०७७ असोज ८ गते बिहीबार ०३:१४




