२०८३ असोज २३ गते शुक्रबार

ग्यालरी अघिल्तिर लोलाइरहेका आँखाहरु …!

ग्यालरी अघिल्तिर लोलाइरहेका आँखाहरु …!

विकास मगर

@BIKASH MAGAR

२०७९ भदौ २३ गते बिहीबार ०६:२४

तत्कालीन कार्यपालिकाले महानगरले पोखरा ८ नयाँबजारस्थित प्रदेश संग्रहालयमा ग्यालरी र पुस्तकालय सार्ने बताएको थियो । तर, हालसम्म पनि उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।

पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरकाे डाेजर

पोखरा
पोखरा महानगरमा फोटो तथा चित्रकला प्रदर्शन गर्न मिल्ने गरी एउटामात्रै ग्यालरी छ, पोखरा आर्ट ग्यालरी । जुन ग्यालरी पनि २०५६ सालमा निर्माण भएको हो ।

तर, ग्यालरी साँघुरोमात्रै छैन, जीर्ण र साँघुरो पनि भइसकेको भइसकेको छ । करिब साढे ३ वर्षअघि तत्कालीन मेयर मानबहादुर जिसीको पालामा ग्यालरी भत्काइने र नयाँ ठाउँमा सारिने कार्यपालिकाले निर्णय गरेको थियो । तर, हालसम्म कार्यान्वयनमा आएको थिएन ।

महानगरले साउन १२ गते ३५ दिने सूचना निकाल्दै ग्यालरीमुनिको सटर प्रयोग गरिरहेका व्यापारीलाई संरचना हटाउन निर्देशन दिएको थियो । ३६ औं दिनमा महानगरले ग्यालरीमा डोजर चलाएको छ । तर, त्यस्तोबेला डोजर चलाएको छ जतिबेला त्यहाँ सिर्जनशील कलाकार समूहको चित्रकला प्रदर्शनी भइरहेको छ ।

अहिले महानगरले महेन्द्रपुल फराकिलो बनाउने भएको एकमात्र ग्यालरीमाथि डोजर चल्दा उनीहरुको मन कुँदिएको छ । ग्यालरीमाथि डोजर चल्दा छेउमै बसेर भावुक मुद्रामा हेरिरहेका थिए, कलाकार हेमकान्ती गुरुङसँगै, ज्योति गुरुङ र सिर्जनशील कलाकार समूहकै अध्यक्ष मिलन शेचरन ।

‘यो केवल एउटा घर, बिल्डिङमात्रै होइन । योसँग हाम्रो थुप्रै मेमोरिज जोडिएको छ । काल्यकाल जोडिएको छ, यो हल बन्दै गर्दा यहाँ आएर खेलेको अझै याद छ,’ हेमकान्ति भन्दै थिइन्, ‘बाबा (कलाकार बुद्धि गुरुङ) हरुले आफैं इँटा, सिमेन्ट बोकेर बनाएको ग्यालरी अहिले भत्काउन लाग्दा साह्रै नरमाइलो लागिराछ ।’

नयाँ ठाउँको विकल्प नदिएरै ग्यालरीमाथि डोजर चलाएपछि कलाकार रुष्ट छन् । ‘कस्तो नरमाइलो लागिराखेको छ । यहीबेला हाम्रो एक्जिबिसन पनि चलिराखेको छ,’ उनले भनिन्, ‘यो डोजर ग्यालरीमाथि होइन, हाम्रो मुटुमाथि चलेको हो ।’

कलाकार ज्योति गुरुङ पनि आफूहरु कलाकारितामा लागेदेखि नै त्यही ग्यालरीमा विभिन्न चित्रकलाहरु प्रदर्शन गर्दै आएको सम्झिइन् ।  ‘हिजोजस्तै लाग्छ, यो बनेको । अहिले भत्काउन लाग्दा त कस्तो नरमाइलो लागेको भन्या !’ उनले भनिन् ।

कलाकार शेचरन कलाकर्मीप्रति राज्य अनुदार भएको सुनाइन् । ‘राज्य कलाकारप्रति कसरी यति अनुदार हुन सक्छ ? हामीले नभत्काऊ भनेको हो र ? नयाँ ठाउँ खै त ?’ उनले आक्रोश पोखिन् ।

तत्कालीन कार्यपालिकाले महानगरले पोखरा ८ नयाँबजारस्थित प्रदेश संग्रहालयमा ग्यालरी र पुस्तकालय सार्ने बताएको थियो । तर, हालसम्म पनि उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।

कलाकार मिलन शेरचन महानगरले अमानवीय व्यवहार गरेको बताउँछिन् । ‘महानगरको सूचनाभन्दा पहिले नै हाम्रो कार्यक्रम तय थियो । अब २ दिन पर्खिंदा के जान्थ्यो ? मेयर साब आफैं अतिथि भएर आउनु भएको थियो । दसैंको मुखमा व्यापारीलाई उठाएर राज्यले अमानवीय व्यवहार गरेको छ,’ उनले दुखेसो पोखिन्, ‘सहर बन्न ताल, पहाड देखाएरमात्रै हुँदैन । कला, साहित्य, संस्कृति पनि उत्तिकै महत्वपूर्ण हो भनेर कसले बुझाइदिने ?’

कलाकार हेमकान्ती गुरुङ महानगरले पहिले ग्यालरी भत्काएर विकल्प खोज्नुभन्दा विकल्प खोजेर ग्यालरी भत्काउन उत्तम हुने सुझाव दिन्छिन् । ‘पहिले व्यवस्थापन गरेरमात्रै हटाउँछौं भन्नुभयो । हामीले मान्यौं पनि अहिले त घर न घाटका भयौं,’ उनी भन्छिन् ।

मेयर धनराज आचार्यले ग्यालरी र पुस्तकालय पोखरा पृथ्वीचोकस्थित साविक ट्राफिक कार्यालयमा बनाइने जानकारी दिए । उनले पृथ्वीचोकमा ‘पोखरा घर’ बनाइने छ, जसको भूइँतलामा सूचना केन्द्र, पहिलो तलामा पुस्तकालय, तेस्रो तलामा ग्यालरी र सबैभन्दा माथि घन्टाघर बन्ने योजना रहेको जानकारी दिए ।

प्रकाशित मिति २०७९ भदौ २३ गते बिहीबार ०६:२४
हजुरको प्रतिक्रिया