पोखरा
असोज पहिलो साता पोखरामा माउण्ट एभरेष्ट अन्तराष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ । ५ देखि ९ असोजसम्म पोखरा रंगशालामा प्रतियाेगिता हुन लागेको हो । अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसीप पनि हुनेछ ।
दक्षिण एसियामै जी–२ ¥याङकिङमा पहिलोपटक प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा विश्वका १३ मुलुकका खेलाडीले प्रतिष्पर्धा गर्ने नेपाल तेक्वान्दो महासंघका महासचिव दिपराज गुरुङले बताए । उनका अनुसार एक हजार एक खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । तीमध्ये २ सय ३० पुम्सेतर्फका प्रतिष्पर्धी हुन् ।
प्रतियोगितामा सहभागगी हुन खेलाडी दर्ता बन्द गरिएको उनले बताए । ‘हामीले व्यवस्थापन गर्न सक्ने भन्दा बढी खेलाडीले दर्ता गराएकाले सेप्टेम्बर ७ तारिखबाटै बन्द ग¥यौँ’, उनले भने । खेलाडी दर्ता बन्द भएसँगैै तयारी तीव्र पारिएको उनको भनाइ छ ।
प्रतियोगितामा सिनियर महिला, पुरुषतर्फ ८/८ र जुनियरतर्फ १०/१० वटा तौल समूहका खेल हुने जनाइएको छ । २०१९ मा आयोजना हुनुपर्ने भएपनि कोराना महामारीका कारण प्रतियोगिता तीन वर्ष पर धकेलिएको हो ।
प्रतियोगिता पोखराको पर्यटनमा कोशेढुंगा सावित हुने नेपाल तेक्वान्दो महासंघ गण्डकीका अध्यक्ष जगनबहादुर गुरुङ बताउँछन् । ‘प्रतियोगिता अवधिभर १५ करोड रुपैयाँको आर्थिक कारोबार हुने अनुमान गरेका छौँ’, उनले भने, ‘पोखराको पर्यटन क्षेत्रलाई प्रतियोगिताले फाइदा पु¥याँछ ।’ कोभिडका कारण अन्तराष्ट्रिय खेल खेल्न नपाएका खेलाडीका लागि पनि प्रतियोगिताले उर्जा थप्ने उनको विश्वास छ ।
नेपाल तेकवान्दो महासंघ, अन्तर्राष्ट्रिय नेपलिज तेक्वान्दो महासंघ, गण्डकी प्रदेश तेकवान्दो महासंघ आयोजक हुन् ।
प्रकाशित मिति २०७९ भदौ २४ गते शुक्रबार ०५:२०




