२०८३ साउन २१ गते बिहीबार

सिक्लेसको घुम्ती सेवा पोखरामा

सिक्लेसको घुम्ती सेवा पोखरामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ भदौ २८ गते मंगलबार ०७:४१

‘सेवा लिनलाई वडा कार्यालयमै जानुपर्छ भन्ने मान्यताभन्दा थोरै माथि उठेर जनताको सेवामा घुम्ती सेवा चलाएका छौं’

वडा कार्यालयले प्रत्येक दुई महिनामा दुई दिन पोखराबाटै सेवा दिन्छ

पोखरा
कास्कीको मादी गाउँपालिका–१ का आधा बढी स्थानीयको बसाइँ पोखरामा छ । पोखरामा बसेपनि उनीहरुले बसाइँसराइ भने ल्याएका छैनन् । स्थानीय तहबाट प्रदान हुुने सेवा लिन पोखराबाट सिक्लेसम्मको उकालो नचढी सुुखै थिएन ।

झन्डै ४२ किलोमिटर यात्रा गरेर वडा कार्यालयसम्म सेवा लिन जानलाई झन्झट भएपछि पोखरामै घुुम्ती सेवा दिन थालिएको छ । प्रत्येक दुुई/दुुई महिनामा दुुई दिन वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारी पोखरामै झरेर सेवा दिन्छन्।
आइतबारदेखि मंगलबारसम्म पोखराको माटेपानीमा घुुम्ती वडा कार्यालय सञ्चालन गरियो ।

यसपालि सेवाग्राहीको बढी चाप भएपछि सेवालाई तीन दिनसम्म लम्ब्याइएको हो । जन्म, मृत्यु दर्ता, नाता प्रमाणित, सामाजिक सुरक्षा भत्ता नविकरण, तिरो तिर्नेजस्ता सेवा प्रदान गरियो । घुम्ती सेवाले गाउँ जान नपरेको खुशीमान गुरुङले बताए । ‘गाउँमा भन्दा यहाँ धेरै छन् । बसाइँसराइ गरेका छैनन् । वडा कार्यालय यहीं आएर सेवा दिदा सजिलो भयो,’ उनले भने । यो सेवालाई निरन्तरता दिन उनको सुझाव छ ।

घुम्ती सेवा दिनलाई वडाध्यक्ष र कर्मचारीसँगै खटिएकाले घुस माग्ने काम नभएको जग्गा नामसारीको सिफारिसको लागि आएका अर्का सेवाग्राहीले बताए । घुुम्ती वडा कार्यालय सुुरुआतको छोटो समयमै निकै प्रभावकारी ठहरिएको छ । समयको बचतसँगै पोखराबाट कार्यालय आउजाउको खर्च समेत जोगिएको उनको भनाइ छ । वडाले घुम्ती सेवा दिएको दोस्रो पटक हो । वडाबासीले सिंहदरबारको अधिकार गाउँमा आएको महसुस गर्न पाएका छन् ।

वडा भौगलिक हिसाबले ठूलो र विकट भएकाले जनताको माग अनुसार घुम्ती सेवा दिएको वडाध्यक्ष देवीजंग गुरुङले बताए । छिटो, छरितो र सहज तरिकाले सेवा दिन सकिन्छ भन्नेमा सचेत रहेको उनको भनाइ छ । ‘सेवा लिनलाई वडा कार्यालयमै जानुपर्छ भन्ने मान्यताभन्दा थोरै माथि उठेर जनताको सेवामा घुम्ती सेवा चलाएका छौं,’ उनले भने । वडा सरकार रहेको महसुस गराउन आफू प्रतिबद्ध रहेको उनी सुनाउँछन् ।

मादी गाउँपालिका वडा नम्बर १ को कार्यालयले सुुरु गरेको घुुम्ति सेवा प्रसंशनीय छ । भौगलिक रुपमा ठूला र विकट अन्य वडाले पनि यसको सिको गर्न सकेमा सिंहदरबारको अधिकार गाउँमा आएको जनताले महशुुस गर्न पाउने थिए ।

https://fb.watch/fwhwXD81Fm/

 

प्रकाशित मिति २०७९ भदौ २८ गते मंगलबार ०७:४१
हजुरको प्रतिक्रिया