पोखरा
पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव २०७९ आजदेखि सुरु भएको छ । असोज १० गते (घटस्थापना) देखि नवमीसम्म उक्त महोत्सव हुनेछ ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा हुने महोत्सवमा श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । युवा पण्डित नारायण देवकोटाले संगीतमय कथा वाचन गर्ने महोत्सवमा प्रत्येक दिन बिहान ९ देखि १२ बजेसम्म र १ बजेदेखि अपराह्न ४ बजेसम्म महायज्ञ हुने उनले बताए ।
पहिलो दिन आज देवीका नौ रुपस्वरुप नव कन्याका नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकीसहित शोभायात्रा गरिएको छ । मन्दिर परिसरबाट सुरु भएको शोभायात्रा तेर्सापट्टी, पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, गणेशटोलहुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन भएको छ । शोभा यात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो । महोत्सव अवधिभर रात्रिकालीन आरती समेत गरिने भएको छ ।
विजया दशमीको अवसरमा बिहान ४ बजेदेखि नित्य पूजा आरम्भ भई ५ बजेदेखि भक्तजनका लागि खुला गरिने समितिले जानकारी दिएको छ । धार्मिक पर्यटनको विकाससँगै विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भावमा टेवा पुग्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए ।





