पोखरा । निजी विद्यालयका शिक्षकले आन्दोलन शुरु गरेका छन् । निजी विद्यालयका शिक्षकहरुको संस्था, संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) कास्कीले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ज्ञापनपत्र बुझाउँदै दोस्रो चरणको आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।
हाल देशभर ८०५० भन्दा बढी संस्थागत विद्यालयमा २ लाख भन्दा वढी शिक्षक कर्मचारी कार्यरत छन् ।
देशभरिबाट हालसम्ममा तीन हजार बढी शिक्षक-कर्मचारीहरू निष्कासनमा परिसकेका छन् । करार, आंशिक शिक्षक र कक्षा ११ र १२ पढाउने शिक्षकहरू सबैभन्दा धेरै मारमा परेका छन् ।
इष्टुले बुझाएका मागहरुमा २०७६ चैतसम्म तलब नदिएका संस्थागत विद्यालयहरूले ७ दिनभित्र अनिवार्य तलब दिनुपर्ने, २०७७ असोजको दोस्रो सातासम्ममा २०७७ असारसम्मको खाइपाई आएको सम्पूर्ण तलब भत्ता अनिवार्य भुक्तानी गर्नुपर्ने,कार्तिकको पहिलो सातासम्ममा श्रावण, भाद्र, असोज महिनाको र चाडवार्ड खर्च अनिवार्य भुक्तानी दिइनुपर्ने,नसक्ने विद्यालयहरूको हकमा शिक्षक-कर्मचारीहरूको सम्पूर्ण तलब रकम सरकारले बेहोरी शिक्षक-कर्मचारीको उचित व्यवस्थापन गर्दै विद्यालय समायोजन एवम् एकीकरणमा लग्नुपर्ने, निष्कासन गरिएका शिक्षक-कर्मचारीहरूलाई तत्काल पुनर्वहाली गर्नुपर्ने लगायत छन ।
प्रकाशित मिति २०७७ असोज ११ गते आइतबार १०:४२




