२०८३ साउन २१ गते बिहीबार

असहज परिस्थितिमा जितेको हुँ, अब अन्तिम पटक लड्छुः कानुनमन्त्री थापा

असहज परिस्थितिमा जितेको हुँ, अब अन्तिम पटक लड्छुः कानुनमन्त्री थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज १३ गते बिहीबार ०२:५०

कास्की निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ मा फेरि एक पटक चुनाव लडेर जित्नेमात्रै होइन, संसदीय दलकै नेता बन्न पनि आफू सक्षम रहेको थापाले बताएका छन् ।

पोखरा । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले आफूले यसअघि असहज परिस्थितिमा पनि चुनाव जितेको भन्दै अब अन्तिम पटक लड्ने बताएका छन् । कास्की निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’ मा फेरि पटक चुनाव लडेर जित्नेमात्रै होइन, संसदीय दलकै नेता बन्न पनि आफू सक्षम रहेको थापाले बताएका छन् ।
अस्वस्थ राजनीतिका कारण आफूले अझै भूमिका भएको र जिम्मेवार मन्त्रालय पाउन नसकेको मन्त्री थापाको भनाइ छ । सांसद र कम भूमिकाकै भए पनि मन्त्री हुन सफल भएको खुसी व्यक्त गर्दै थापाले अब पनि पार्टीले टिकट दिनेमा विश्वास व्यक्त गरे ।
उनको क्षेत्रबाट ७ जनाको नाम सिफारिस भएको छ । त्यसमा आफूले नै टिकट पाउने दाबी गर्दै थापाले आफूले नपाएको अवस्थामा भने अर्कोलाई पनि जिताउन लाग्ने दाबी गरे ।
‘पार्टीले मबाहेक अरुलाई उपयुक्त ठानेर टिकट दिएको खण्डमा चुनाव जिताउन मरिमेटेर लाग्नुपर्छ । म स्वतन्त्र उम्मेदवार हुन्छु, बागी उठ्छु भन्ने खालको भावना ममा पटक्कै छैन,’ थापाले भने ।
आफूले प्राप्त गरेको सुविधालाई सामाजिक कार्यमा लगाएका कार्यक्रमबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा थापाले यस्तो बताएका हुन् । यसअघि आफूले बजेट र जिम्मेवारीका हिसाबले अर्को मन्त्रालय दिन अहिलेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले चाहेको भए पनि गण्डकीकै मन्त्री कुमार खड्काका कारण सम्भव नभएको दाबी गरे । अब अन्तिम पटक चुनाव लडेर जित्ने थापाले इच्छा व्यक्त गरे ।
सुविधासहित ५८ लाख विकास तथा सामाजिक क्षेत्रमा
कानुनमन्त्री थापाले कार्यकालभरिमा आफूले प्राप्त गरेको सुविधाभन्दा धेरै सामाजिक कार्यमा लगाएको दाबी गरेका छन् । सुरुदेखि अहिलेसम्म सांसद र मन्त्री हुँदा सुविधाबापत ४० लाख ७१ हजार रुपैयाँ आफ्नो खातामा जम्मा भएको उनले बताए ।
थापाले सुविधाभन्दा पनि धेरै ५८ लाख २९ हजार रुपैयाँ सामाजिक क्षेत्रमा लगाएको बताए ।
‘निर्वाचित भएदेखि हालसम्म मैले विकास निर्माण र सामाजिक कार्यमा ५९ लाख २९ हजार ६६ रुपैयाँमा पहिलो वर्षदेखि क्रमशः १० लाख ५४ हजार, ९ लाख ३ हजार, १२ लाख ४७ हजार, १४ लाख ८६ हजार र यो वर्ष ११ लाख ३६ हजार खर्च गरेको छु,’ थापाले भने ।
प्रकाशित मिति २०७९ असोज १३ गते बिहीबार ०२:५०
हजुरको प्रतिक्रिया