पोखरा
नेपालीहरुको महान पर्व विजया दशमीको टीका लगाउने क्रम बिहीबार पनि जारी छ । विजया दशमीको मुख्य दिन हिजो मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा ग्रहण गरिए पनि यो क्रम पूर्णिमा सम्म चल्छ ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हिजो हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाएको छ ।
विजया दशमीको दिन टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्ने चलन रहेको छ । झरीका कारण पनि टीका लगाउन जान समस्या भएको छ । पोखरामा पनि अहिले पानी परिरहेको छ । मंगलबार रातिदेखि परेको पानी अहिलेसम्म जारी छ ।
प्रकाशित मिति २०७९ असोज २० गते बिहीबार ०७:२३