पोखरा
नेपालीले मनाउने बडादशैं पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैं सकिन्छ ।
दशैंको विजया दशमीको दिन टीका लगाउन नभ्याउनेहरुले आजसम्म मान्यजनको हातबाट टीका लगाउने चलन छ । आज महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।
माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । कोजाग्रत पूर्णिमाकाे अवसरमा पोखराको फेवातालको बीचमा रहेको वाराही मन्दिरमा भक्तजनको ठूलो भिड लाग्ने गर्दछ ।
प्रकाशित मिति २०७९ असोज २३ गते आइतबार ०८:०५