तनहुँ । तनहुँ-२ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङ्गले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै तनहुँ-२ (क) मा श्यामराजा महत र तनहुँ-२ (ख) मा केदार सिग्देलले उम्मेदवारी दर्ता गराएका छन् ।
गुरुङ्ग अघिल्लो निर्वाचनमा २ (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । यसपालि उनले प्रतिनिधि सभाको टिकट पाए । अघिल्लो पटक प्रतिनिधि सभामा निर्वाचित भएका सिग्देलले २ (ख) बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
तनहुँ-२(क) मा उम्मेदवारी दिएका महतले गत स्थानीय तहको निर्वाचनमा शुक्लागण्डकी नगरपालिकाको मेयरमा दाबी गरेपनि टिकट पाएनन् । सत्ता गठबन्धनका उम्मेदवारले तनहुँ-२ मा दिउँसो ४ बजेपछि उम्मेदवारी दर्ता गराउने बताएका छन् ।
सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारीले टिकट पाएका छन् । उनी क्षेत्र नम्बर १ का मतदाता भएपनि टिकट नपाएपछि क्षेत्र नम्बर २ बाट चुनाव लड्न लागेका हुन् । अघिल्लो निर्वाचनमा पनि यहीँ क्षेत्रबाट चुनावी मैदानमा होमिएका भण्डारी एमालेका केदार सिग्देलसँग पराजित भएका थिए । सिग्देलले ३२ हजार ९२४ मत प्राप्त गर्दा भण्डारीले भण्डारीले २९ हजार ६४५ मत ल्याएका थिए ।
तनहुँ-२ (क) नेकपा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपाने र २ (ख) मा कांग्रेसका जितप्रकाश आलेले उम्मेदवारी दिनेछन् ।




