पोखरा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनको प्रत्यक्षतर्फ कास्की क्षेत्र नम्बर तीनमा नेकपा एमाले र सत्ता साझेदार गठबन्धन दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले तोकेको समय भित्र उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमाले पोखराको जिरोकिमीबाट जुलुससहित निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको परिसर पुगेको थियो । एमालेका उम्मेदवारहरुले मन्ध्यान्हमा उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधि सभा सदस्यमा एमालेका दामोदर वैरागी पौडेलले उम्मेदवारी दर्ता गराए भने प्रदेशमा ३ क मा गणेशमान गुरुङ, ३ खमा राजीव पहारीले उम्मेदवारी दिए ।
गठबन्धनका उम्मेदवारहरु पनि जुलुससहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । गठबन्धनका उम्मेदवारले अपरान्ह ४ बजे उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनबाट कास्की क्षेत्र नम्बर ३ प्रतिनिधिमा नेकपा माओवादीका रामजीप्रसाद बराल जीवनले उम्मेदवारी दिए भने प्रदेश सभा सदस्यमा कास्की ३ क बाट नेपाली कांग्रेसका प्रकाश बराल र ३ ख बाट नेकपा माओवादीका दुर्गादत्त भण्डारीले उम्मेदवारी दिए ।
प्रतिनिधि सभामा प्रदेशका मन्त्री समेत रहेका बराल र वैरागीबीच प्रतिष्पर्धा हुनेछ भने प्रदेश सभा क मा गण्डकी प्रदेशका निर्वतमान सांसद राजीव पहारी र लामो समय जिल्ला खेलकुद विकास समिति कास्कीको कार्यालय प्रमुख भएर काम गरेका प्रकाश बरालबीच प्रतिष्पर्धा हुनेछ । कास्की ३ ख मा गणेशमान गुरुङ र दुर्गादत्त भण्डारीबीच प्रतिष्पर्धा हुनेछ ।









