२०८३ साउन २१ गते बिहीबार

गठबन्धन तोड्दै तनहुँमा एसको उम्मेदवारी दर्ता

गठबन्धन तोड्दै तनहुँमा एसको उम्मेदवारी दर्ता

 विनोद ढुंगाना

@Public 4K Tv

२०७९ असोज २३ गते आइतबार ०९:४८

‘काठमाडौंमा पानी परयाछ, हामीले यहाँ छाता ओढेर भएन’, घुमाउरो पारामा कार्कीले भने, ‘सत्ता गठबन्धनमा तनहुँमा एकिकृत समाजवादी नै छैन भनेर भनियो । हामी यहाँ छौँ भनेर देखाउन उम्मेदवारी दिएका छौँ’,

तनहुँ । तनहुँ-१ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएपछि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘गठबन्धनको सुरुवात यहीँ तनहुँबाट भएको हो । बुल्दी खोलाबाट भएको हो ।’ उनले माओवादी केन्द्र, कांग्रेस र नेकपा एकिकृत समाजवादी पार्टी सँगै रहेको बताए । तर उनको बोली धेरै बेर टिक्न सकेन । नेकपा एकिकृत समाजवादीले गठबन्धन तोडेर तनहुँका चार प्रदेश सभामा उम्मेदवारी दर्ता गराएको छ । एकिकृत समाजवादीले तनहुँ १ (क) मा विद्या ढकाल र १ (ख) मा कलिला खातुनलाइ उम्मेद्वार बनाएर आइतबार मनोनयन दर्ता गरेको हो ।

तनहुँ २ (क) मा दुर्गाकुमार श्रेष्ठ र २ (ख) मा प्रतापलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभामा भने गठबन्धनलाई नै सघाउने एकिकृत समाजवादी पार्टीका तनहुँ अध्यक्ष श्रीराम कार्कीले बताए । गठबन्धनमा आबद्ध दललाई आफ्नो हैसियत देखाउनलाई प्रदेशमा उम्मेद्वारी दिएको उनको भनाई छ । ‘काठमाडौंमा पानी परयाछ, हामीले यहाँ छाता ओढेर भएन’, घुमाउरो पारामा कार्कीले भने, ‘सत्ता गठबन्धनमा तनहुँमा एकिकृत समाजवादी नै छैन भनेर भनियो । हामी यहाँ छौँ भनेर देखाउन उम्मेदवारी दिएका छौँ’, उनले भने । पार्टी अध्यक्षसँग सल्लाह गरेरै उम्मेद्वारी दिएको उनले बताए । उम्मेद्वारी फिर्ता नहुने उनको दाबी छ ।

नेकपा एमालेबाट विभाजन भएर स्थापित नेकपा एकिकृत समाजवादीमा तनहुँका दुई संघीय सांसद थिए । एमालेबाट तनहुँ १ मा प्रत्यक्ष निर्वाचन जितेका कृष्णकुमार श्रेष्ठ (किसान) र समानुपातिक सासंद कलिला खातुन समाजवादीमा लागेका थिए । तनहुँ १ एकिकृत समाजवादीको भागमा पर्नुपर्ने हो । कांग्रेसका बरिष्ठ नेता पौडेलले यहीँ क्षेत्र दाबी गरेपछि श्रेष्ठले बारा ४ बाट उम्मेद्वारी दिएका छन् । तनहुँका दुवै प्रतिनिधि सभा क्षेत्र कांग्रेसको भागमा परेको छ । प्रदेशसभा क्षेत्र माओवादी र कांग्रेसले २/२ वटा पाएका छन् । तनहुँमा कांग्रेस माओवादीले पेलेर एकिकृत समाजवादीलाई एक सिट पनि दिएनन् । तनहुँ २ (ख) समाजवादीले मागेको थियो । नपाएपछि एकिकृत समाजवादीले गठबन्धन तोडेर प्रदेश सभामा आफ्नै उम्मेद्वार उठाएको हो । उसो त गण्डकी प्रदेशमै समाजवादीले निकै कम सिट पाएको छ । प्रतिनिधि सभातर्फ एक र प्रदेशमा दुई सिट मात्रै भाग पाएको छ ।

प्रकाशित मिति २०७९ असोज २३ गते आइतबार ०९:४८
हजुरको प्रतिक्रिया