पोखरा नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्यान्डबलको खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा आर्मीले बागमती प्रदेशलाई ४३–८ को फराकिलो अन्तरले जित निकालेको हो । उक्त खेलमा आर्मीको जितका लागि आकाश अधिकारीले सर्वाधिक ८ गोल गरेका थिए । प्रतियोगिताको पहिलो दिन ८ खेल हुनेछन् ।
जसमध्ये चौंथो खेल (महिला) आर्मी र लुम्बिनी प्रदेशबीच भइरहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम गण्डकीले मधेश प्रदेशमाथि ६३–१३ को फराकिलो जित निकालेको थियो । प्रदेश नं १ र कर्णालीबीच भएको दोस्रो खेलमा प्रदेश १ ले ३६–१ गोलअन्तरले जित निकालेको थियो । प्रतियोगितामा ७ प्रदेश र २ विभागीय गरी ९ टिमको सहभागी छन् । विभागीय नेपाल पुलिस र गैरआवासीय नेपाली संघ (एनआरएनए) ह्यान्डबलमा सहभागी छैनन् ।
असोजको २९ गतेसम्म ह्यान्डबलका खेलहरु हुनेछन् । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु प्रतियोगिता अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका हुन् ।
प्रकाशित मिति २०७९ असोज २४ गते सोमबार ०२:३०




