पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दोस्रो दिनको महिला ह्याण्डबलमा कर्णाली, गण्डकी र प्रदेश १ ले जित दर्ता गरेको छ । मंगलबार भएको पहिलो खेलमा समूह ‛बी’मा रहेको कर्णालीले मधेशमाथि ११–७ ले जित निकालेको थियो। कर्णालीकी अञ्जली शाही र संगीता सिंहले सर्वाधिक समान ५-५ स्कोर गरे। जितसँगै कर्णालीले महत्वपूर्ण ३ अंक बटुलेको थियो । मधेश प्रदेश भने लगातार दोस्रो खेलसम्म पराजित बनेको छ । मधेशले पहिलो खेलमा विभागीय नेपाल आर्मीसँग २–४६ ले हार व्यहोरेको थियो । कर्णालीले पहिलो खेलमा प्रदेश–१ संग ४–२६ ले हार व्यहोरेको थियो।
यस्तै महिला ह्याण्डबलको अर्को खेलमा प्रदेश–१ ले लगातार दोस्रो जित निकालेको छ । आफ्नो दोस्रो खेलमा समूह ‘बी’ को प्रदेश–१ ले बागमती प्रदेशलाई २४–८ ले पराजित गरेको हो। पहिलो खेलमा सोमबार कर्णालीविरुद्ध २६–४ ले जित निकालेको प्रदेश–१ ले अपराजित रहँदै ६ अंक जोडेको छ। प्रदेश–१ की प्रेक्षा कटुवालले सर्वाधिक ८ गोल गरिन्।
यता महिला ह्याण्डबलको तेस्रो खेलमा घरेलु गण्डकीले लगातार दोस्रो जित निकालेको छ। समूह ‘ए’ को गण्डकीले सुदूरपश्चिममाथि २७–४ को जित निकाल्दै ६ अंक जोडेको छ। आइतबारको आफ्नो पहिलो खेलमा गण्डकीले कर्णालीलाई ५८–२० को फराकिलो अन्तरले जितेको थियो। गण्डकीकी योगिता गुरुङले सर्वाधिक ८ गोल गरिन्।




