पोखरा
कास्की क्षेत्र नम्बर ३ को प्रतिनिधि सभामा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका एमाले नेता जगन्नाथ बास्तोलाले उम्मेदवारी फिर्ता लिएका छन् ।
नेकपा एमालेले दामोदर वैरागीलाई उम्मेदवार बनाएपछि आफूलाई अन्याय भएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले पटक\पटक नाम सिफारिस हुने तर केन्द्रबाट टिकट नदिइएकोमा भन्दै अन्सतुष्ट थिए ।
निर्वाचन आयोगले दिएको समय भित्र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।
नेकपा एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य बास्ताेलाले एमाले अध्यक्ष केपी ओलीसँगको फोन वार्तापछि उम्मेदवारी फिर्ता लिएको बताए । ‘अध्यक्ष कमरेडले पार्टीमा उचित जिम्मेवारी दिने र आगामी दिनमा अन्याय हुन नदिने भन्नुभयो, त्यसपछि उम्मेदवारी फिर्ता लिए’ उनले भने ।
उनले उम्मेदवारी फिता लिने समय १५ मिनेट बाँकी रहँदा पौने एक बजे पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपाने लगायतका नेताहरुसँग निर्वाचन अधिकृतको कार्यालयमा पुगेर फिर्ता लिएका हुन् ।
उम्मेदवारी फिर्ता लिएर नेता बास्तोला एमाले कास्कीले बुधबार आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रममा सहभागी भएका छन् । त्यहाँ उम्मेदवार वैरागी र बास्तोलाले अंकमाल गरेका थिए ।
प्रकाशित मिति २०७९ असोज २६ गते बुधबार ०१:५७




