कास्की क्षेत्र नम्बर २ मा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री महादेव गुरुङले बागी उम्मेदवारी फिर्ता लिएनन् ।
गुरुङले बागी उम्मेदवारी दिए पनि बुधबारसम्म फिर्ता लिने अनुमान धेरैको थियो । तर, उनले बार्गेनिङका लागि नभइ, सिद्धान्त र निष्ठाको पक्षमा उम्मेदवारी दिएको भन्दै उम्मेदवारी फिर्ता नलिएको दाबी गरे । उम्मेदवारी फिर्ता गराउन पार्टी सभापति शेरबहादुर देउवाले फोन आफूलाई गरेको र आफूले उम्मेदवारी फिर्ता नलिने जवाफ दिएको दाबी गरे ।
‘मैले पद र पैसाका लागि कहिल्यै राजनीति गरिनँ । जाने पनि नजाने पनि जनताका लागि पनि राजनीति गरें, अझै पनि गर्छु,’ गुरुङले भने, ‘देउवाजीले फिर्ता दिन भनेर फोन गर्नुभयो र अवसर दिने कुरा गर्नुभयो । मैले तपाईंको अवसर चाहिँदैन भनिदिएँ । ’
गुरुङले आफूलाई देउवाले नै मन्त्री पद दिँदा त नखाएको बताउँदै अहिले आएर अवसरमा आश्वासनमा नबिक्ने दाबी गरे । ‘२०५८ सालमा गिरिजाप्रसाद कोइरालापछि सरकार बन्दा तपाईंले नै मन्त्री पद प्रस्ताप गर्दा अस्वीकार गरेको तपाईंलाई थाहै छ, अनि अहिले के अवसरको कुरा गर्नुहुन्छ भनेर मैले भनें,’ गुरुङले भने, ‘देउवाले कारबाही हुन्छ नि भन्नु भयो, मैले हुन्छ गर्नुस् भनेर फोन राखें ।’
गठबन्धनको भागबण्डामा कास्की क्षेत्र नम्बर २ नेकपा एकीकृत समाजवादीलाई परेको छ । समाजवादीका नेता श्रीनाथ बराल चुनावी मैदानमा छन् । एमालेको गण मानिएको यो क्षेत्रमा विद्या भट्टराई प्रतिस्पर्धामा छिन् ।
गुरुङले उम्मेदवारी फिर्ता नलिएपछि श्रीनाथलाई चुनौति थपिएको छ । समाजवादीले भने पछि भए पनि सघाउने गरी सहयोग मिल्नेमा आशा राखेको छ । तर, महादेवले भने ‘गुरुङको छोराले आँटेपछि आँट्यो,’ भन्दै आएका छन् ।
नेपाली कांग्रेस कास्कीका पूर्व सभापतिसमेत रहेका गुरुङ कास्कीका प्रभावशाली नेतामा पर्छन् । उनी २०५६ मा चुनावी जितेर पर्यटन राज्य मन्त्री बनेका थिए । पौडेल समूहका मानिने गुरुङले देउवाकै कारण अवसर नपाएको उनी निकटले बताउने गरेका छन् ।
उनको नाम क्षेत्र नम्बर ३ बाट समानुपातिक सिफारिस भएको थियो । तर, बन्द सूचीमा उनको नाम काटिएको थियो ।
प्रकाशित मिति २०७९ असोज २६ गते बुधबार ०२:५८




