पोखरा
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक रुपमा शुक्रबारदेखि सुरु हुँदैछ । साँझ ४ बजे पोखरा रंगशालामा उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने कार्यतालिका छन् ।
उद्घाटन समारोहमा सातौं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्वलन् गर्नेछन् । समारोहमा कालीप्रसाद अधिकारी तथा इन्दिरा जोशीको पनि प्रस्तुति रहने आयोजक राखेपले जनाएको छ ।
उद्घाटन समारोहमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरुबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रमलगायत आतिसबाजीसमेत गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बिहीबारको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
एक महिनाअगाडिबाटै विभिन्न खेलहरु सञ्चालन भइरहेको भए पनि औपचारिक रुपमा शुक्रबारबाट सुरु भएर ३ गते सकिने छ । समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् ।
उद्घाटन समारोहमा ३ सय जना स्वयंसेवक खटिनेछन् भने विद्यार्थी, सेना, प्रहरी, एपीएफ, खेलाडी, रेफ्री, खेल पदाधिकारी, अतिथि र स्थानीयको उपस्थितिले १६ हजार ५ सय सिट क्षमताको प्यारापिट भरिने आयोजकको आँकलन छ ।
नवौं राष्ट्रिय खेलकुदमा ६ हजार १५६ जना खेलाडी सहभागी छन् । यसअघि २०३९ सालमा पहिलो पटक तत्कालीन गण्डकी अञ्चलमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । त्यसको करिब ४ दशकपछि गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना हुन लागेको हो ।
प्रकाशित मिति २०७९ असोज २८ गते शुक्रबार ०७:४४




