नवौं राष्ट्रिय खेलकुदतर्फ महिला हक्कीको आज भएको दोस्रो दिनको पहिलो खेलमा नेपाल आर्मी विजयी भएको छ । आज भएको महिला हक्कीको पहिलो खेलमा नेपाल आर्मीले ८–० को गोल अन्तरले मधेस प्रदेशलाई हराएको हो । खेलको पहिलो क्वाटरमा आर्मीकातर्फबाट सीतामाया बलले गोल गर्न सफल भएकी थिइन् ।
खेलको सुरुआतीको ५ मिनेटमै बलले गोल गरेकी थिइन् । त्यस्तै खेलको ७ मिनेटमा आर्मीकैतर्फबाट सीमा खड्काले गोल गरेकी थिइन् । खेलको दोस्रो क्वाटरमा सीतामाया बलले पुन एक गोल गरिन् । १८ औं मिनेटमा उनले गोल गरेपछि २४ मिनेटमा आर्मीकैतर्फबाट कमला चन्दले पुनः एक गोल गरिन् । त्यस्तै तेस्रो क्वाटरमा सीतामाया र सुनिता नेगीले आर्मीका लागि १–१ गोल गर्न सफल भए । ३९ औं मिनेटमा सुनिताले गोल गरेको एकमिनेट लगत्तै सीतामायाले गोल गरेकी थिइन् ।
अन्तिम क्वाटर फाइलनमा आर्मीकातर्फबाट कमला चन्द र सुनिता नेगीले पुन एक–एक गोल गरेका थिए । यो सँगै आर्मीले खेल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
प्रकाशित मिति २०७९ असोज २८ गते शुक्रबार १२:२९