तनहुँ । प्रधानमन्त्री बन्ने दावाका साथ चुनावी मैदानमा होमिएका हेभिवेट नेता मध्यका हुन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तनहुँ १ मा सत्ता गठबन्धनका तर्फबाट मैदान होमिएका उनी पुराना राजनीतिक खेलाडी हुन् । एक पटक सभामुख र एक पटक उपप्रधानमन्त्री भएका पौडेल पटक पटक मन्त्री भए । तीन दशकदेखी निरन्तर टिकट पाइरहेका पौडेलका प्रतिस्पर्धी यसपाली को छ त ? आम निर्वाचनको सरगर्मी चढेसँगै यो सवालमा सबैको चासो छ । यो क्षेत्रको दृश्य पनि रोचक बन्दैछ ।
रामचन्द्रसँगको प्रतिस्पर्धामा सहयोद्धा गोविन्दराज जोशी छन् । कांग्रेसले कारबाही गरेपछि रामचन्द्रलाई टक्कर दिन जोश जाँगरका साथ जोशी कस्सिएर लागेका छन् । जेल जिवनमा पौडेल र जोशीको मेल थियो । पछि पार्टी राजनीतिमा यी दुईको सधैँ बेमेल भइरह्यो । अघिल्लो निर्वाचनमा त रामचन्द्रलाई पराजय गर्न जोशीले भूमिका खेलेको ट्याग छ । त्यसैले त जोशीलाई कांग्रेसले कारबाही ग¥यो ।
जोशी भन्दा पनि निकटम प्रतिष्पर्धी मानिन्छन् नेकपा एमालेका एकबहादुर राना । गोविन्दराज जोशीसँग तीन पटक चुनावी मैदानमा भिडेका एकबहादुर रामचन्द्रसँग भने पहिलो पटक आमनेसामने हुँदैछन् ।
२०४८ सालमा रामचन्द्र पौडेलले पहिलो पटक टिकट पाएर तनहुँ १ मा बाजी मार्दै संसदीय राजनीतिमा डेब्यु गरे । त्यतिबेला नै एकबहादुरलाई तत्कालिन नेकपा मालेले पौडेलसँगको चुनावी मैदानमा उतार्न टिकट दिएको थियो । रामचन्द्र भर्सेस एकबहादुरको भिडन्त जुरेन । मालेले पछि राष्ट्रिय जनमोर्चासँग तालमेल गर्दैै तनहुँ १ छाड्यो । एकबहादुरलाई ब्याक गरायो ।
पहिलो पटक टिकट पाएर रामचन्द्रसँग प्रतिस्पर्धाको मैदानमा होमिन नपाएका एकबहादुरलाई तीन दशक पछाडी बल्ल त्यो अवसर जुरेको छ । दोहोरो ह्याट्रिक गर्ने दाउमा मैदानमा उत्रिएका पौडेलका प्रतिस्पर्धी राना पहिलो इनिङको प्रयासमा छन् ।
को हुन त पौडेलका प्रतिस्पर्धी राना ?
६५ बर्षीय राना तत्कालिन नेकपा मालेका संस्थापक केन्द्रिय सदस्य हुन् । पेशाले शिक्षक उनी २०३५ सालदेखी राजनीतिमा क्रियाशिल छन् ।उनले १४ बर्षसम्म शिक्षकको जागिरसँगै राजनीति गरिरहे । २०४५ सालमा जागिर छाडेर पूर्णकालिन राजनीतिमा होमिदैँ भूमिगत बने । दोस्रो पटक एकबहादुरले २०५१ सालमा तनहुँ १ मा टिकट पाए । पहिलो चुनावी प्रतिष्पर्धा गोविन्दराज जोशीसँग भयो । त्यतिबेलाका शिक्षा मन्त्री जोशीसँगको भिडन्तमा एकबहादुरलाई पहिलो गासमै ढुंगा लाग्यो ।
२०५६ सालमा फेरी तत्कालिन गृहमन्त्री जोशीसँग भिडन्त दोहोरियो । ‘शक्तिशाली गृहमन्त्री जे गरेपनि माफी नै थियो । कहाँबाट जित्न सक्नु’, उनले सम्झिए । २०६४ सालमा एकबहादुर राना नेकपा एमालेतर्फबाट चुनावी मैदानमा उतारिए । त्यतिबेला परिचत प्रतिस्पर्धी जोशीलाई पछाडी पारे । तर, चुनाव जितेनन् । अर्थात उनी दोस्रो भए । नेकपा माओवादीका सुरेश आले मगर विजयी भए ।
२०७० र २०७४ सालको निर्वाचनमा एमालेको सामुनिपातिक सुचीमा उनको नाम अटायो । तर, प्राथमिकता सुचीमा थिएनन् । संसद भवन छिर्न उनी पाएनन् । यसपालि उनलाई पार्टीले सर्वसम्मत सिफारिस गर्दै तनहुँ १ बाट टिकट दिएको हो ।
गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आबद्ध दलका उम्मेद्वारले वडामा पाएको मतपरिणाम हेर्दा पौडेल झन्डै दोब्बरले अगाडी छन् । देवघाट, आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र व्यास नगरपालिकाका १२ वडा तनहुँ क्षेत्र नम्बर १ मा पर्दछ । यो क्षेत्रको ४२ वडामा गत स्थानीय निर्वाचनमा एमाले भन्दा कांग्रेस एक्लै पनि १२ हजार मतले अगाडी छ । एमालेका वडाध्यक्षका उम्मेद्वारले २० हजार ८७९ मत पाएका थिए । कांग्रेसले ३३ हजार १०६ मत प्राप्त गर्दा गठबन्धनमा आबद्ध दल नेकपा माओवादीले आठ हजार १२४ र एकीकृत समाजवादीले ८९२ मत ल्याएको थियो । यी तीन दलले पाएको मत ४३ हजार ७५२ छ । वडामा गठबन्धन र एमालेबीचको मतान्तर झन्डै हजार बढी छ । राप्रपाका उम्मेद्वारले एक हजार ६३० र स्वतन्त्र उम्मेदवारले तीन हजार ९९२ मत पाएका थिए ।
गठबन्धनको मत एमालेको भन्दा दोब्बर बढी भएकाले सातौं पटक चुनावी मैदानमा होमिएका रामचन्द्रलाई पराजित गरेर संसदीय राजनीतिमा एकबहादुरको इन्ट्री चुनौतीपूर्ण देखिन्छ । ‘प्रतिस्पर्धा हो चुनौती त हुन्छ नै । चुनौतीलाई सजिलै पार गर्न सक्छु । स्वतन्त्र ढंगले चुनाव भएको भए यसअगाडी नै मैले जितिसकेको थिए । नेकपा एमालेले लिएको एजेन्डाहरु मन छुने खालका छन् । राष्ट्रभक्तिपूर्ण भएको कारणले जनताको विश्वास लिन सकिन्छ भन्ने आत्माविश्वास छ’, ढुक्क उनी सुनिए ।
स्थानीय तहको निर्वाचनको परिणामलाई आधार मान्न नमिल्ने उनको तर्क छ । ‘त्यतिखेर त भाइ भतिजा इष्टमित्र हेरिन्छ । एमालेले गरेका राम्रा काम कसैले सम्झदैनन् । आफ्नो भेनालाई जिताउन छ एमालेले फिर्ता ल्याएको लिपुलेक कस्ले सम्झन्छ ? दिदीलाई जिताउन सुरुङमार्गले के असर गर्छ ? मंहगीको कुराले कहाँनेर छुन्छ ? अब बल्ल छुन्छ । अब भाग्य र भविष्य बनाउनलाई राष्ट्रिय राजनीतिको सरकार कस्को बन्छ भनेर हेरिन्छ । स्थानीय तहको निर्वाचनले न मुल्य नियन्त्रण गर्छ । त्यतिबेला त को नजिकको हो भनेर हेरिन्छ’, उनको दाबी छ ।
उनले सत्तामा नपुगेपनि तनहुँको विकास निर्माणमा खेलेको भुमिका नै जित्ने आधार भएको बताउँछन् । तनहुँ कालिका शहिद पार्क, भानु साहित्य उद्यानको विकास, भानुभक्तको जन्मस्थलमा बाटो पु¥याएको, थानीमाइको पर्यटन विकास, गाउँ गाउँमा खानेपानीको व्यवस्था, बाटोघाटो र पुलपुलेसो निर्माणमा योगदान दिएको उनको भनाई छ । सत्तामा नपुग्दा पनि पुगेका प्रतिद्वन्दीले भन्दा बढी काम गरेकाले जनताले मत दिने उनको जिकिर । ‘जित्नेहरुले केही गरेनन् भनेर जनताले नै भनिराख्याछन्’, उनले भने ।
मुख्य प्रतिस्पर्धा रामचन्द्र की जोशीसँग ?
एकबहादुरसँगको भिडन्तमा परिचित जोशी र नयाँ प्रतिष्पर्धी रामचन्द्रसहित अन्य १२ जना छन् । उनले मुख्य प्रतिस्पर्धा रामचन्द्रसँग हुने आँकलन गरेका छन् । ‘किनकी उहाँ पार्टी हो, पार्टीबाट लडेको छ । जोशीजी कांग्रेसको विद्रोही हुनुहुन्छ । उस्तै परे जोशीसँग पनि प्रतिष्पर्धा पनि हुन सक्छ । किनभने पौडलसँग कांग्रेसका मान्छेहरु नै असन्तृष्ट देखियाछन् । कांग्रेसका कतिपय मान्छेहरु जोशीतिर लाग्नुभाछ’, बोलि फेर्दै उनले भने ।
‘जतिपटक हारे पनि कहिल्यै निराश भइन । देश र जनताको लागि लडे । हिजो बहुदल व्यवस्थाका लागि लड्दा गिरफ्तारी भइयो । जनआन्दोलनमा पनि मेरो भुमिका जनताले देखेका छन् । यसपालि जनताले न्याय दिन्छन् भन्ने विश्वास छ’, वार्तालापको अन्तिममा उनले भने ।
प्रकाशित मिति २०७९ असोज ३० गते आइतबार ०४:५३




