२०८३ साउन २१ गते बिहीबार

२४ खेलाडी उसु सान्सौको क्वाटरफाइनलमा

२४ खेलाडी उसु सान्सौको क्वाटरफाइनलमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज ३१ गते सोमबार ०५:३२

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सान्सौ र थाउलो दुवै विधाका खेल जारी छन् । आइतबार उद्घाटन भएको प्रतियोगितामा सोमबार बिहानबाट खेल सुरु भएका हुन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिता...

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सान्सौ र थाउलो दुवै विधाका खेल जारी छन् । आइतबार उद्घाटन भएको प्रतियोगितामा सोमबार बिहानबाट खेल सुरु भएका हुन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिता सुरुआत गरेका थिए ।

सोमबार बिहानबाट दिउँसोसम्म सान्सौतर्फ २४ खेल भएका छन् । पुरुषतर्फ १६ र महिलातर्फ ८ खेलाडी क्वाटरफाइनल प्रवेश गरेको कास्की जिल्ला उसु संघका वरिष्ठ उपाध्यक्ष वीरन्द्र गहतराजले जानकारी दिए ।

महिला ४८ केजीमा सशस्त्र प्रहरीकी गौरी घर्तीमगर र सुदूर पश्चिम प्रदेशकी अस्मिताकुमारी गाहामगर क्वाटरफाइनलमा पुगेका छन् । उनीहरुले क्रमशः बागमती प्रदेशकी सञ्जिता ग्लान र मधेस प्रदेशकी कञ्चन पाललाई हराएका हुन् ।

महिलाको ५२ केजीमा बागमतीकी साशन थिङ लुम्बिनीकी शारदा पौडेललाई हराउँदै  अघिल्लो चरणमा प्रवेश गरेका छन् । ५२ केजीमा गण्डकी प्रदेशकी शिरिष सिंजाली र नेपाली सेनाका मदनकुमार श्रेष्ठ क्वाटर फाइनल पुगेका छन् ।

५६ केजीमा सशस्त्र प्रहरीका रोहित चुनारो र नेपाली सेनाका जनक धामी विजयी भएका छन् । पुरुष ६० केजीमा बागमतीका बुद्धमान तामाङ र सुदूर पश्चिमका सुवास बुढा अघिल्लो चरण पुगेका छन् । ६५ केजीमा बागमती प्रदेशका आशीषा लामा र नेपाली सेनाका राजेश चौधरी विजेता बनेका छन् । ७० केजी तौल समूहमा सशस्त्र प्रहरीका सुवास भुल सेठी र नेपाल प्रहरीका मिलन दनुवार विजयी भएका छन् ।

पुरुषतर्फकै ७५ केजीमा सशस्त्र प्रहरीका अनिष शाही र सुदूर पश्चिमका हरिचन्द्र कार्की अघिल्लो चरणमा गएका छन् । ८० केजीमा सुदूरपश्चिमकी आलोक बुढामगर, ८५ केजीमा बागमतीका विदेश श्रेष्ठ विजयी भएका छन् ।

सोमबार दिउँसोबाट थाउलुतर्फका खेलसमेत सुरु भएका छन् । उसुका खेल ३ कात्तिकसम्म चल्नेछन् ।

थाउलोमा पुरुष र महिलातर्फ समान स्वर्ण ४, रजत ४ र कास्य ४ का लागि खेल हुनेछ । प्रतियोगिताका विभिन्न इभेन्टमा करिब ३ सय ४० खेलाडी सहभागी छन् । उसुमा सात प्रदेशका सात टिम र तीन विभागीय गरी १० टिमको सहभागिता छ । एनआरएनएको खेलाडी उसुमा सहभागी छैन ।

 

प्रकाशित मिति २०७९ असोज ३१ गते सोमबार ०५:३२
हजुरको प्रतिक्रिया