पोखरा । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले स्वर्ण जितेको छ । मंगलबार विभागीय क्लबहरुबीच भएको फाइनल खेलमा एपीएफलाई ५ रनले पराजित गर्दै पुलिस पहिलो सहभागितामा नै उपाधि जित्न सफल भएको हो । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत नै गत भदौ अन्तिममा काठमाडौंमा भएको पुरुष क्रिकेटको उपाधि पनि पुलिसले नै जितेको थियो । मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको एपीएफले ७ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो ।
पुलिसका लागि ओपनर काजल श्रेष्ठले सर्वाधिक २७ रन बनाउन ५५ बल खेलिन् । यस्तै सम्झना खड्काले २१, कविता कुँवरले ११, कविता जोशीले अविजित १३ रन बनाए । एपीएफका लागि बलिङमा नेरी थापा, इन्दु वर्मा र सीता राना मगरले १(१ विकेट लिए । रेखा रावलले ४ ओभरमा १ मेडन राख्दै ७ रन मात्र खर्चिइन् भने विकेट लिन सकिनन् । ९० रनको लक्ष्य पछ्याउने क्रममा एपीएफको सुरुवात राम्रो हुन सकेन ।
चौथो ओभरमै ओपनर ज्योति पाण्डे व्यक्तिगत ७ रन बनाएर रनआउट भएपछि एपीएफले लय लिन सकेन । त्यसपछि इन्दु वर्मा २, कप्तान सीता राना मगर ७, नेरी थापा शून्य, ममता चौधरी ९ रनमा आउट हुँदा एपीएफले १३/४ ओभरमा ४७ रन बनाउँदा ५ विकेट गुमायो । छैटौं नम्बरमा ब्याटिङ गरेकी रोमा थापाले लोअर अर्डरमा इनिङ्स सम्हाल्ने प्रयास गरेकी थिइन् ।
उनले सरिता राना मगरसँग मिलेर इनिङ्स अघि बढाउने प्रयास गरेकी थिइन् । तर सरिता ९ रनमा आउट भइन् । त्यसबेला एपीएफले ६४ रन जोड्दा ६ विकेट गुमाएको थियो । अन्तिम दुई ओभरमा एपीएफलाई जितका लागि १८ रन आवश्यक थियो । १९ औं ओभरको पहिलो बलमा रोमाले १ रन लिँदै राजमती ऐरिलाई स्ट्राइक दिइन् । तर दोस्रो बलमा राजमतीले रन लिने क्रममा रोमालाई पुलिसकी अप्सरी बेगमले डाइरेक्ट हिटमार्फत रनआउट गराइन् । रोमाले १९ बल खेल्दै २ चौका मद्दतमा २६ रन बनाइन् ।
अन्तिम ओभरमा एपीएफलाई जितका लागि १३ रन चाहिएको थियो । एपीएफले ७ रन मात्र जोडेपछि पुलिस विजयी भयो । राजमती १२ रनमा अविजित रहिन् । बलिङमा पुलिसका लागि ईश्वरी विष्टले २, रुविना क्षेत्री, सबनम राई र हिरन्मई रोयले १/१ विकेट लिए ।
प्रकाशित मिति २०७९ कात्तिक १ गते मंगलबार ०५:१५




