पोखरा
मिस सुनार विश्वकर्माको फाइनल प्रतिष्पर्धा भोलि शनिबार हुने भएको छ । पोखरा ९ नयाँबजार स्थित प्रर्दशनी केन्द्रमा हुने ग्रान्ड फिनालेमा १६ जना फाइनलिस्टबीच मिस सुनारको ताजको लागि प्रतिष्पर्धा हुने भएको हो । दिउँसो २ बजेदेखि सुरु हुने मिस सुनारको ग्रान्ड फिनाले हेर्नका लागि दर्शकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
यसअघि मिस सुनारको दुई ओटा इभेन्ट सफलता पूर्वक गरेको आयोजक प्रतिक इभेन्टले यसपालीको संस्करणलाई अझै भव्य बनाउने भएको छ । फिनालेमा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माको प्रमुख आतिथ्यता रहने इभेन्टका अध्यक्ष प्रतिक विश्वकर्माले पत्रकार सम्मेलनमा जानकारी दिए । फिनालेमा परिचय राउन्ड, प्रश्नउत्तर राउन्ड, अन्तिम चरण गरी बिजेता घोषणा गरिनेछ ।
मिस सुनारको ताज जित्नेले स्कुटर, चाँदीको क्राउन, ट्रफी, म्युजिक भिडियो, प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ । फस्ट रनरअपले ५० हजार ,चाँदीको क्राउन, ट्रफी, म्युजिक भिडियो, प्रमाणपत्र र सेकेन्ड रनरअपले २५ हजार, चाँदीको क्राउन, ट्रफी म्युजिक भिडियो, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विश्वकर्मा समुदायमा जातीय आत्मविश्वास बढाउन तथा प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले विगतका वर्षहरुदेखि मिस सुनारको आयोजना गरिएको अध्यक्ष प्रतिकले बताए । इभेन्टका सल्लाकार रेम रसाइलीले आत्म सम्मान र आत्मप्रेरणा बढाउनको लागि यो इभेन्टले मद्दत पुग्ने आशा व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति मुख्य आर्कषणको रुपमा रहेको छ । चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश सपुत, समीक्षा अधिकारी, देवेन्द्र बब्लु, प्रताप दास, मञ्जु विक, कविता नेपाली लगायतले आफ्नो प्रस्तुति दिनेछन । ४० प्रतियोगीबाट विभिन्न चरणको प्रतियोगितामार्फत १६ प्रतिष्पर्धी फिनालेका लागि छानिएका हुन् । जसमा कास्की, बागलुङ, बेनी, पर्वत, पाल्पा, म्याग्दी, तनहुँ लगायत जिल्लाबाट प्रतियोगिताबाट आवेदन परेको थियो ।
प्रतियोगिलाई पब्लिक स्पिकिङ, ¥याम्प वाक, मोटिभेसन, सेल्फ डिफेन्स, टेबल म्यानर, आरजे, भिजेको ट्रेनिङ, फिल्ड भिजिट, ट्यालेन्ट राउन्ड, एन्टरपेनरसीप लगायतको तालिम दिइएको आयोजकले बताएको छ । त्यस्तै विश्वकर्मा समुदायले सञ्चालन गरेको नेपालकै पहिलो होमस्टे आँपस्वाँरा होमस्टे, तनहुँ लगिएको र विश्वकर्माको इतिहास र कलाको बारेमा पनि जानकारी दिइएको थियो । आयोजकको अनुसार फिनालेका लागि ५ जनाको निर्णायक टोली रहेको छ भने कार्यक्रमको कोरियो ग्राफर स्मिता सुनार हुन् ।
प्रकाशित मिति २०७९ कात्तिक ४ गते शुक्रबार ०४:११




