भाइटीकाकाे साइत १० गते ११ः३७ मा
पोखरा
नेपालीहरुको दोस्रो ठूलो चाड आजेदखि सुरु हुँदैछ । आज नै शनिबार कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि तिहार सुरु हुन्छ ।
यमदीप दान आजदेखि सुरु हुने भएपनि काग तिहार कात्तिक ६ गते आइतबार परेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीप दान सुरु हुन्छ । आइतबार बेलुकी ०५ः०४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बेलुकी ०५ः०४ बजेपछि चतुर्दशी तिथि लाग्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको छ ।
यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धनत्रयोदशी (धनतेरस) पर्व पनि आजै परेको छ । धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा सोमबार एकै दिन परेको समितिले जनाएको छ ।
गाईपूजा कात्तिक ८ गते मंगलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ ।
भाइटीका साइत ११ः३७ बजे
तिहारको अन्तिम दिन कात्तिक १० गते बिहीबार भाइटीकाका साइत बिहान ११ः३७ बजे उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले सुनाए । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि पोखरा, काठमाडौं लगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेको छ ।
प्रकाशित मिति २०७९ कात्तिक ५ गते शनिबार ०७:२७




