नागरिक समाज कास्कीले हालैमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी दिएको छ ।
खेलकुदमा सहभागी खेलाडीहरुको निम्नतम् स्वास्थ्य उपचार सुविधा समेत उपलब्ध नगराइएको तर उद्घाटन र समापन समारोहमा आतिशबाजी गरेर रकम हिनामिना गरेको भन्दै छानविनका लागि उजुरी दिइएको हो ।
पत्रमा चार वटा बुदांमा छानविन गर्न माग गरिएको छ । जसअन्तरगत खेलकुदमा सहभागि खेलाडीहरको जीवन विमा, आकस्मिक दुर्घटना, विमालगायतका खर्च सुविधाको छानविन, प्याराग्लाइडिङ खेल संचालनका लागि नागरिक उड्डयन प्राधिकरणसंग स्वीकृति नलिएकोबारे, आतिशबाजी र त्यसको वास्तविक खर्च के छ, खेल आयोजना पूर्व खेलकुद पूर्वाधार निर्माण तथा खेलमैदान स्तोरोन्नतिको नाममा भएको खर्च विवरणबारे छानविनका लागि माग गरिएको छ ।
समाजका संयोजक रामबहादुर पौडेलले लाखौं रकम खर्च गरेर आतिसबाजी गर्ने तर खेलाडीको स्वास्थ्योपचार, खेलाडीलाई बसोबासको लागि दिएको भत्ता व्यवस्थापनमा भने हेलचक्रयाईँ गरेको आरोप लगाए । उनले भने, ‘आतिशबाजीका लागि कानुनत मापढण्ड नबनीकन आतिशबाजी गर्नु कानुन विपरीत हो । हामीले मेयर र सिडिओमा ज्ञापनपत्र बुझाउदा पनि समापन कार्यक्रमको आतिशाजी रोक्न सकिएन । लाखौं लाख खर्चिएर आतिशबाजी गरे तर जसको लागि त्यो खेल गरिएको हो ती खेलाडीलाई भने बस्न खानाको राम्रो व्यवस्थापन गर्न सकेन । त्यसैले यसको छानविन गर्नुपर्छ भनि उजुरी दिएका हौं ।’
यस अघि नै नवौं राष्ट्रिय खेलकुदको व्यवस्थापन फितलो भएको भन्दै चौतर्फी आलोचना पनि भएको छ ।
प्रकाशित मिति २०७९ कात्तिक ५ गते शनिबार १२:०१




