पोखरा
आचारसंहिता विपरीत निर्वाचन सम्बन्धी सामग्री फेसबुकमा कसैले पोस्ट गरेको सूचना पाउने बित्तिकै त्यसलाई तत्कालै हटाइने निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।
‘सामाजिक सञ्जालमा चुनाव सम्बन्धी मिथ्या सूचना संप्रेषण भएमा त्यसलाई हटाउने छौं,’ पोखरामा आइतबार आयोजित प्रदेश स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा भण्डारीले भने, ‘फेसबुकको मूल कम्पनी मेटासँग आयोगले सहकार्य गरेको छ, गलत सामग्री पोस्ट भएको थाहा पाउने बित्तिकै हटाउने व्यवस्था मिलाइएको छ ।’ उनले अधिकांश मतदाताको सामाजिक सञ्जालमा पहुँच भएकाले त्यसको अनुगमन गरिएको स्पस्ट पारे ।
फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मूल कम्पनी मेटाले मंसिर ४ को चुनावका सन्दर्भमा फैलिन सक्ने मिथ्या सूचनाहरूको अनुगमन गरिरहेको पनि उनले जानकारी दिए । चुनावका बेलामा आचारसंहिता विपरीत सामाजिक सञ्जालबाट फैलिन सक्ने गलत सूचनालाई रोक्नका लागि आयोगले मेटासँग सहकार्य गरेको भण्डारीको भनाइ छ । उनले निर्वाचनलाई निष्पक्ष, भयरहित, धाधलीरहित बनाउन आयोगले कुनै कसर बाँकी नराख्ने दाबी गरे । जनता र राष्ट्रको भविश्यसँग जोडिएको निर्वाचन निष्पक्ष गराउन आयोग लागि परेको बताउँदै यसमा सञ्चारकर्मी र सञ्चार माध्यमको अग्रगामी भूमिका हुने बताए ।
निर्वाचन सम्बन्धी आचारसंहिता कार्यान्वयन भएमा निर्वाचन निष्पक्ष, धाधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने उनले बताए । ‘आचारसंहिता कार्यान्वयन गराउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण छ,’ उनले,‘ आयोग आफैले आचारसंहिता बनाउँदैन, राजनीतिक दलहरुकै सहभागिता बनाएको आचारसंहितालाई सबैले पालना गर्नुपर्दछ ।’ उनले पत्रकारिताको धर्म र मर्म अनुसार आचारसंहिता पालना गरी निर्वाचनलाई निष्पक्ष बनाउने भूमिका निर्वाह गर्न सञ्चार जगतलाई आग्रह गरे ।
‘आचारसंहिता उलंघन बारेका उजुरी आयोगमा आएका छन्,’ उनले भने,‘ ती उजुरीको सुक्ष्म ढंगले अध्ययन भइरहेको छ, उम्मेदवारलाई स्पष्टीकरण सोध्नु कारबाही होइन प्रमाणले उलंघन भएको पुष्टि भएमा कारबाही हुन्छ ।’ आयोगले संविधान, ऐन, कानुन, नियम मात्र चिन्न भएकाले आचारसंहितालाई पालाना गरेर निर्वाचनलाई निष्पक्ष बनाउन उनले राजनीतिक दलहरुलाई पनि आग्रह गरेका छन् । आज आइतबारदेखि कात्तिक १७ गतेसम्म उम्मेदवारहरुले घरदैलो गर्ने र १८ गतेदेखि मंसिर २ गतेसम्म कोण सभा, सभा, र्याली लगायतका चुनावी गतिविधि गर्न पाउने भण्डारीले बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले निर्वाचनको सकारात्मक वातावरण बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण भएको बताए । ‘निर्वाचनको सुरक्षाप्रति चनाखो भएर काम गरिरहेका छौं,’केसीले भने,‘निर्वाचन प्रतिकुल हुनेगरी सूचना संप्रेषण नगर्न सबैलाई आग्रह गर्दछु ।’ कार्यक्रममा मुख्य मन्त्री तथा मन्त्री परिषद् कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पंगेनीले सामूहिक प्रयासले मात्र निर्वाचन स्वतन्त्र र निष्पक्ष हुने बताइन् । राष्ट्र निर्माणमा निर्वाचनको महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ ।
कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी होमनाथ पराजुली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, निर्वाचन कार्यालय गण्डकीका रुद्र न्यौपानेले निर्वाचन बारेमा बोलेका थिए । ४० जना पत्रकाहरु सहभागी कार्यक्रममा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल र राष्ट्रिय समाचार समितिका शीतल महतोले कार्यपत्र प्रस्तुत गर्दैछन् । कार्यक्रम अहिले लेकलाइडस्थित होटल ल्यान्डमार्कमा भइरहेको छ ।




