२०८३ साउन २१ गते बिहीबार

आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइदैं

आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइदैं

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ७ गते सोमबार ०८:२०

यसपालि कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।

पोखरा

आज यमपञ्चकको तेस्रो दिन कुकुर तिहार मनाइँदैछ । आज घरघरमा कुकुरलाई पूजाआराधनासहित मीठा–मीठा खानेकुरा खान दिएर गरी कुकुर तिहार मनाइँदैछ ।

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकी विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा.डा. देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

यसपालि कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

प्रमुख रात्रीमध्ये एक हो आजको रात । आजको दिन लक्ष्मी माताको बास होस् भनेर घरको आगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरेको कोठासम्म लिपपोत गरी चामलको पिठो र अबिरले लक्ष्मी माताको पाइला बनाइन्छ ।
माता लक्ष्मीको पाइलासँगै केराको सुत्ला अथवा माटाको पाला राखिन्छ । सबैको घरमा दीयो, मैनबत्ती र झिलीमिली बत्ती बालेर घरलाई उज्यालो अनि सुन्दर सजाइन्छ ।

लक्ष्मीसँगै भगवान् गणेशको पनि स्थापना गरिन्छ । दीयो, कलश, आफूसँग भएका गरगहना र धन राखेर लक्ष्मीपूजा गरिन्छ । संस्कृतिविद् मान्यता अनुसार सन्ध्याकालदेखि पूजा सुरू गरेर मध्यरातमा घरको नारीले नाङ्लो ठटाएर धनधान्य माता लक्ष्मीको आगमन होस् भनी पूजा गरिन्छ । आजकै दिन कन्यालाई लक्ष्मीको प्रतिक मानेर पूजा गरी दक्षिणा पनि दिइन्छ । लक्ष्मी पूजाको दिनदेखि नै देउसी भैलो खेल्ने गरिन्छ । भैलो खेल्न आउनेलाई धान, चामल, सेलरोटी, पैसा दिने चलन पनि छ ।

 

प्रकाशित मिति २०७९ कात्तिक ७ गते सोमबार ०८:२०
हजुरको प्रतिक्रिया