२०८३ साउन २१ गते बिहीबार

अन्नपूर्ण गाउँपालिकाको गाउँ सभा सम्पन्न

अन्नपूर्ण गाउँपालिकाको गाउँ सभा सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २९ गते शुक्रबार ०५:२७

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाको १३ औँ गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीको अध्यक्षतामा बिहीबार गाउँ सभा भएको हो । गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले स्वागत मन्तव्यसहित गाउँपालिकाको...

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाको १३ औँ गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीको अध्यक्षतामा बिहीबार गाउँ सभा भएको हो ।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले स्वागत मन्तव्यसहित गाउँपालिकाको चालु आर्थिक वर्षको हालसम्मको प्रगति प्रतिवेदन र गाउँपालिकाको विनियोजन विधेयक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक पेस गरेकी थिइन् । साथै विभिन्न विषयगत समितिअन्तर्गत पूर्वाधार समितिका संयोजक भरतमान गुरुङ, सामाजिक समिति संयोजक तुलसीप्रसाद अधिकारी, आर्थिक समिति संयोजक फणीन्द्रप्रसाद पौडेल, वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक हिमबहादुर गुरुङ, सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजक भुपाल घर्ती, लेखा समिति संयोजक पिताम्बर भण्डारी, विधायन समिति संयोजक एकादेव देवकोटाले आआफ्नो समितिसँग सम्बन्धित प्रगति प्रतिवेदन पेस गरेका थिए । विधायन समिति संयोजक एकादेव देवकोटाले गाउँ पालिकाको सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७९ प्रस्तुत गरेका थिए ।

सभामा प्रस्तुत विधेयक र प्रगति प्रतिवेदनहरु उपर छलफलमा भाग लिँदै वडा नं. ४ का वडासदस्य विजय गुरुङले जनप्रतिनिधिहरुमा प्राविधिक ज्ञानसम्बन्धी क्षमता अभिवृद्धि गर्नुपर्ने, उपभोक्ताहरुलाई योजना सम्पन्न गर्न सहज वातावरण बनाउनुपर्नेलगायत सुझाव राखेका थिए ।

गाउँ सभामा प्रस्तुत विधेयक र प्रतिवेदनहरु सर्वसम्मत पारित भएको गाउँपालिका प्रवक्ता एवं वडा नं. ७ का वडाअध्यक्ष भरतमान गुरुङले बताए।

गाउँ सभा समापन गर्दै अध्यक्ष विष्णुबहादुर केसीले सम्पूर्ण जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई गाउँपालिकाको समृद्धिका लागि इमानदारपूर्वक क्रियाशील हुन जोड दिए । उनले निस्वार्थ रुपमा जनताको सेवामा समर्पित रहन आग्रह गरेका थिए ।

प्रकाशित मिति २०७९ पुस २९ गते शुक्रबार ०५:२७
हजुरको प्रतिक्रिया