पोखरा
काठमाडौंबाट पोखरा उडेको यति एयरलायन्सको जहाज आइतबार विहान पोखरा महानगरपालिका–१५ मितेरीपुल नजिकै सेती खोंचमा दुर्घटना भएको छ । जहाजमा चालक दलका ४ जनासहित ७२ यात्रु सवार थिए । जहाजमा सवार सबैको मृत्यु भएको छ ।
दुर्घटनामा परेको एटीआर जहाज पहिलो हो ।काठमाडौंबाट १० बजेर ३३ मिनेटमा उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरबाट १० बजेर ५५ मिनेटमा सेती खोंचमा सम्पर्क रहेकोे थियो ।
दुर्घटनामा परेको यति एयरलायन्सको एनवाइटि ६९१, ९ एन–एएनसी विमान प्रशिक्षक पाइलट कमल केसीले उडाएका थिए । केसी कास्कीकै पाइलट हुन् । कास्कीको रुपा गाउँपालिका–१ फल्याङकोटमा जन्मिएका केसीको परिवार अहिले रुपा–३ पोल्याङमा बस्ने गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । उनी हाल भने दुई छोरा र श्रीमतिसहित काठमाडौंको बुढानिलकण्ठमा बस्थे ।
२०४७ सालमा केसी पाइलट बनेको अध्यक्ष ओझाले बताए । ‘गाउँपालिकाको पहिलो पाइलट हो उहाँ’, उनले भने, ‘अघिल्लो वर्ष हामीले उहाँलाई गाउँपालिकाबाट सम्मान गरेका थियौं ।’ ‘रुपा रत्न’ पुरस्कारबाट पाइलट केसीसहित साहित्य, लेखन, कलाकार, पत्रकार, खेललगायतको क्षेत्रमा ख्याती पाएकालाई सम्मान गरेको थियो । गाउँपालिकालाई चिनाउनका निम्ति उहाँले ठुलो योगदान रहेकाले सम्मान गरेको ओझाले बताए ।
‘यो दुर्घटनाले हामी एकदम दुखी छौं । अहिले उहाँको परिवारसँगै छौं । उहाँको सनाखत भइसकेपछि गाउँपालिकाले गर्नपर्ने सबै प्रकृया पुरा गर्छ’, उनले भने ।
अध्यक्ष ओझाका अनुसार केसी अनुभवी पाइलट थिए । उनै केसीले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा डेमो उडान गरेको ओझा बताउँछन् । दुर्घटनामा परेको यहीं जहाजमा केसीले डेमो उडान भरेका थिए ।
प्रकाशित मिति २०७९ माघ १ गते आइतबार ०६:५५




