आयोजनाको काम जम्मा २६ प्रतिशत सकियो
कावासोती
नारायणगढ बुटवल सडक विस्तार अन्तर्गतको कावासोती जंगल खण्डमा कालोपत्रको काम सुरु भएको छ । बुधवार करिब ५ सय मिटर सडक पक्कि निर्माण गरिएको हो ।
एक हप्ता भित्रमा जङ्गल खण्ड अन्तर्गतको चार किलोमिटर सडक कालोपत्र गरिने आयोजनाका कन्सल्ट्यान्ट इन्जिनियर राकेश झाले जानकारी दिए । कालोपत्र गरिएको सडकको चौडाई सात मिटर रहेको छ भने कालोपत्रको मोटाई ६ सेन्टीमिटर रहेको छ । केहि दिनपछि ६ सेन्टिमिटरको मोटाई माथी ४ सेन्टिमिटर कालोपत्र थपिने झाले जानकारी दिए ।

आयोजना सुरु भएको झण्डै चार वर्षपछि कालोपत्रको काम सुरु भएको हो । यसभन्दा अगाडी परिक्षण स्वरुप पुर्वि खण्डको हर्कपुर र पश्चिम खण्डको भुमाहीमा कालोपत्र गरिएको थियो । अहिलेसम्म आयोजनाको काम जम्मा २६ प्रतिशत सकिएको छ ।
कावासोती नगरपालिका र आयोजनाबिच ३४ हजार घनमिटर ग्राभेल सम्भौता भएपछि कावासोती देखी लोकाहा सम्मको सडक पिच गर्न थालिएको हो । लोकाहादेखी पश्चिम केरुङ्गेखोला सम्मको क्षेत्र पिच गर्न थप १ लाख घनमिटर ग्राभल आवश्यक पर्ने जनाईएको छ । यो क्षेत्र चैत महिनाभित्र पिच गरिसक्नुपर्ने दबाबमा चिनिया ठेकेदार रहेको छ ।
यो पनि पढ्नुहोस्
धुलोले आजित डण्डावासीको आक्रोस्ः नारायणगढ–बुटवल सडकले रोगी बनायो
१ सय १४ किलोमिटर दुरिको नारायणगढ बुटवल सडक खण्डको बस्ती क्षेत्रमा ६ लेन, जङ्गल क्षेत्रमा ४ लेन र दाउन्ने क्षेत्रमा ३ लेनको बनाईने छ । करिब १७ अर्ब रुपिँयामा चिनिया ठेकेदार कम्पनी चाईना स्टेट ईन्जिनियरिङ्ग कर्पोरेसनले ठेक्का लिएको यस नारायणगढ बुटवल सडक खण्ड बिस्तारको काम निकै सुस्त रहेको छ । गत साउनमा बिस्तारको काम सकेर सरकारलाई बुझाउनु पर्नेमा जम्मा १९ प्रतिशत काम सकेको थियो भने अहिले यो आयोजनाको म्याद एक वर्ष थपिएको छ ।
प्रकाशित मिति २०७९ चैत २ गते बिहीबार ०२:४२




