२०८३ साउन २१ गते बिहीबार

दाजी किरणसँगै निभेको उज्यालो !

दाजी किरणसँगै निभेको उज्यालो !

मनोहर दाहाल

@Public 4K Tv

२०८० जेठ ५ गते शुक्रबार ०७:३९

किरण दाजीको ‘किरण’ निभ्दा परिवारमा विभिन्न नाता सम्बन्धले आफ्नो जीवनको थुप्रै उज्यालो गुमाउनुभएको छ ।

मानिस आफूलाई मनपर्ने चिजमा मात्रै खुसीसाथ स्वीकार गर्दो रहेछ । जुन चिज आफूलाई मन नै पर्दैन त्यो स्वीकार नगर्दो रहेछ ।

स्वभावैले मन नपरेका जिज जर्बजस्ती स्वीकार गर्नुपर्दा मन दुखी हुने, भारी हुने, असहज हुने, बेचैनीआदि हुने गर्दछ ।

सायद त्यसै कारण होला, मृत्यु कसैलाई मन पर्दैन । स्वीकार गर्न पनि सजिलै नसकिँदो रहेछ । त्यस्तै आभाष भएको छ–जब प्रिय प्रिय दाजी गिरबहादुर श्रेष्ठ ‘किरण’को महाप्रस्थानबारे सुनें ।

उहाँको महाप्रस्थान यो मनले स्वीकार गर्नै सकिरहेको छैन । तर, यो शाश्वत नियम नमानिकन फेरि सुख पनि छैन ।

किरण दाजीको ‘किरण’ निभ्दा परिवारमा विभिन्न नाता सम्बन्धले आफ्नो जीवनको थुप्रै उज्यालो गुमाउनुभएको छ । भाउजु कोपिलाले पति गुमाउनुभएको छ ।

छोरीहरु रोजिना र रजनीले पूजनीय पिता गुमाएका छन् । पोखरेलीले छापाखानाको क्षेत्रमा एक शिखर व्याक्तित्व गुमाएका छौं । यो समाज जबसम्म रहन्छ तबसम्म जन्म र मृत्यु पनि एक साथ चलिरहन्छ, यही त हो प्रकृतिको शाश्वत नियम ।

जब कुनै व्यक्तिको निधन हुन्छ–उसको शोक व्यक्त गर्ने प्रक्रिया उसँग जोडिएका भावना, हिँडाइ, बसाइँ, संगत, सम्बन्धले धेरै प्रभाव पार्दछ । जोसँग सम्बन्ध रहँदैन, उसको निधनमा खास मान्छे शोक मान्दैन ।

मेरो भेट किरणसँग २०५८ सालतिर भएको हो । त्यतिबेला भेट हुँदा काखमा छोरी रोजिना लिएर दाजी, भाउजु स्क्रिनप्रिन्ट गर्दै हुनुहुन्थ्यो ।

झण्डै २२ वर्षदेखि निरन्तर साथ सहयोग आत्मीय मायासहित जोडिएको हाम्रो सम्बन्ध हो ।

२०८० बैशाख २४ गते बिहान प्रकृतिको समेत रिस मिसिएको आभाससहित प्रिय व्यक्तिलाई गुमाउनुपर्दा व्यक्तिगत रुपमा र सिंगो मुद्रण उद्योग संघ परिवारमा आबद्ध सम्पूर्ण व्यावसायिक साथीहरु अत्यन्तै मर्माहित र स्तब्ध भएका छौं ।

यो घडीमा उहाँलाई श्रद्धापूर्वक सम्झँदै गर्दा लेख्दा कुनै शब्द भेटिनँ । तर, नलेखी बस्न पनि सकिनँ । उहाँकै कर्म र योगदानहरु मनभरि खेलिरहे, घुमिरहे ।

पोखरामा छापाखाना र सामाजिक संघ संस्थामा ‘किरण’को योगदानः

सहिद लखन गाउँपालिका–६, घैरुङ, गोरखामा सामान्य किसान परिवारमा जन्मिएर पोखरामा स्थापित एउटा नाम हो, किरण ।

गाउँघरमा चलनचल्तीको भाषाअनुसार ‘मुख र मुठी’मात्रै लिई ५० को दशकमा जब उहाँ छापा क्षेत्रमा प्रवेश गर्नुभयो, त्योबेला लिथो, लेटर प्रेसको जमाना पूर्ण रुपमा हटिसकेको थिएन ।

त्यतिखेर आफूलाई स्क्रिन प्रिन्टर, कम्प्युटर अपरेटर हुँदै पोखराको महेन्द्रपुलमा रोजिना अफसेट प्रेस सञ्चालनमा ल्याउनुभो ।

अथक मेहनत र कडा परिश्रमकै कारण निकै छोटो समयमा उहाँले गरेको प्रगति आफैंमा एक उच्चस्तरको थियो । व्यक्तिगत रुपमा आफ्नो प्रगति धेरैले गर्न सक्लान !

आखिर मरिजाने चोलामा समाजमा उसको योगदान के कति छ ? त्यो नै अन्तिम सम्पति हुँदो रहेछ ।

एक त व्यावसायिक साथीहरु थोरै । तिनैमा पनि अस्वस्थ प्रतिस्र्पधा यस्तै गतिमा पोखराको छापाखाना चलेको थियो ।

वि.सं.२०१३ सालबाट पोखरामा छापाखाना भित्रिए पनि संस्थागत रुपमा भने यसको विकास हुन लामो समय लाग्यो ।

साथीभाइबीच सहयोग, आपसी एकताको निम्ति संस्थाको आवश्यकता महसुस गरी वि.सं. २०६६ सालमा विधिवत रुपमा मुद्रण उद्योग संघ कास्की संस्था स्थापना हुँदा उहाँको भूमिका प्रमुख थियो ।

आम मुद्रण व्यवसायी साथीहरुलाई र भेला गराउन स्व.किरण दाइ, पदम दाइ र म व्यवसायीको घरघरमा पुगेको सम्झिरहेको छु । त्यसपछि नै हो, संस्था मजबुत बन्दै गएको । व्यवसायी साथिभाइबीच हार्दिकता एकता र आफ्नोपन बढ्दै गएको पनि ।

६० को दशकतिर गुणस्तरीय रंगिन छपाइका लागि पोखरालाई विस्वास नगरी धेरै कामहरु काठमाडौं पुग्थे । यसै परिवेशलाई मध्यनजर गर्दै पोखरामै पहिलोपटक Heidelbuerg Company jerman CPC & CP Tonic Printing Mechine  बाट छपाइ गरी गुणस्तरीय काम पोखराबाटै सम्भव छ भन्ने स्थापित गराउन उहाँको भूमिका चिरस्थायी छ ।

पछिल्लो समय फेरि DTF print पनि उहाँकै अग्रसरतामा भित्रिएको हो । यसले सफलता पनि प्राप्त गरिरहेको छ ।

हरहमेशा आफूलाई समयानुकूल परिस्कृत गर्दै विदेशी पद्धतिहरु पोखरामा भित्र्याउने स्व. किरण दाइ हामीमाझ नहुँदा पोखराले मुद्रण व्यवसायको शिखर व्याक्तित्व गुमाएको छ ।

छोटो समयमा यति धेरै आफूलाई र समग्र पोखराको छापाखानामा स्तर बृद्धि गर्ने उहाँको योगदान अतुलनीय छ ।

छापाखानामा मात्र सक्रिय नभई विभिन्न सामाजिक संघ संस्थामा समेत उत्तिकै सक्रिय हुनुहुन्थ्यो ।

लायन्स डिस्ट्रिक ३२५ के. वर्ष २२,२३ का रिजन चियर पर्सन, गण्डकी फ्रेम उद्योगका अध्यक्ष, पोखरा रोयल सहकारी सस्थाका कोषाध्यक्ष पोखरा प्रिप्रेसका सञ्चालक समिति सदस्य, गोरखा मिलन समाज लगायतका संघ संस्थाहरुमा उहाँ आबद्ध हुनुहुन्थ्यो ।

अब हामी उहाँलाई भौतिक रुपमा नपाएपनि उहाँले गरेका असल कर्महरुले सम्झिरहनेछौं ।

पछिल्लो समय महेन्द्रपुलबाट आफ्नै निवाससँगै अझै विशाल रुपमा व्यवसाय सार्ने क्रममा हुनुहुन्थ्यो । त्यो पूरा नहुँदै उहाँको स्वर्गाबास भएको छ ।

सायद यहाँमात्रै नभएर अलौकिक क्षेत्रमा उहाँको आवश्यकताले भगवानले निम्ता दिनुभएको होला !

यो शोकको घडीमा मृतात्माप्रति चिरशान्ति बैकुण्ठबासको कामना गर्दै परिवारका सम्पूर्ण सदस्यहरुलाई गहिरो समवेदना प्रकट गर्दछु ।

यो शोकलाई शक्तिमा परिणत गरी भाउजु कोपिला श्रेष्ठ र छोरीहरु रोजिना श्रेष्ठ र रजनी श्रेष्ठले प्रकृतिको शाश्वत नियमलाई मनन गरी अफसेट प्रेसलाई सुचारु गरी यसको ब्राण्ड कायम राखिरहनुहोला !

अन्त्यमा अलबिदा किरण दाजी !

(लेखक मनोहर दाहाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको महासचिव हुन् ।)

प्रकाशित मिति २०८० जेठ ५ गते शुक्रबार ०७:३९
हजुरको प्रतिक्रिया