२०८३ साउन २१ गते बिहीबार

बलात्कार मुद्धामा पल शाहलाई सफाइ दिइएको फैसलाको पूर्णपाठ सार्वजनिक

बलात्कार मुद्धामा पल शाहलाई सफाइ दिइएको फैसलाको पूर्णपाठ सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन १ गते सोमबार १२:५३

‘जबरजस्ती करणी मुद्दामा पीडित नै सर्वश्रेष्ठ प्रमाण हुने हुँदा निज पीडित अदालतमा उपस्थित भइ स्वयंले आफू उपर प्रतिवादीबाट जबरजस्ती करणी नभएको भनी स्वतन्त्र रुपले बकपत्र गर्दा गर्दै प्रतिवादी उपर किटानी जाहेरी परेकै कारणले मात्र प्रतिवादीलाई दोषी करार गर्नु न्यायसम्मत हुँदैन,’ फैसलामा भनिएको छ ।

पीडितले नै अस्वीकार गर्दा जाहेरीकै भरमा दोषी करार गर्न नसकिएको उल्लेख

पोेखरा

नाबालिका बलात्कार मुद्धामा गत फागुन १५ गते थुनामुक्त भएका पल शाह (पूर्णविक्रम शाह) लाई पीडितले नै इन्कार गर्दा जाहेरीकै भरमा दोषी करार नभएको पाइएको छ । उच्च अदालत पोखराले पललाई फागुन १४ गते सफाइ दिएको थियो ।

न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । ‘जबरजस्ती करणी मुद्दामा पीडित नै सर्वश्रेष्ठ प्रमाण हुने हुँदा निज पीडित अदालतमा उपस्थित भइ स्वयंले आफू उपर प्रतिवादीबाट जबरजस्ती करणी नभएको भनी स्वतन्त्र रुपले बकपत्र गर्दा गर्दै प्रतिवादी उपर किटानी जाहेरी परेकै कारणले मात्र प्रतिवादीलाई दोषी करार गर्नु न्यायसम्मत हुँदैन,’ फैसलामा भनिएको छ ।

पीडितले नै आफूमाथि करणी तथा यौन दुरुपयोग नभएको बताएको र स्वास्थ्य परिक्षण प्रतिवेदन र सो प्रतिवेदन लेख्ने चिकित्सकको वकपत्रबाटसमेत यो पुष्टि भएको फैसलामा भनिएको छ । जबरजस्ती करणी जस्तो गम्भिर मुद्दामा केवल जाहेरीको भरमा मात्र कसूर भएको अनुमान गरी प्रतिवादीलाई कसूरदार ठहर गर्नु फौजदारी न्यायको सर्वमान्य सिद्धान्त विपरित हुने पूर्णपाठमा लेखिएको छ ।

पललाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपुर जिल्ला अदालतले भने बाल यौन दुरुपयोगमा साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । त्यसविरुद्ध पहलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्चले नवलपुर अदालतको फैसलालाई उल्ट्याउँदै सफाइ दिएको हो ।

प्रमाणका रुपमा पेश गरिएको अडियोको आंशिक तथ्यलाई पल शाहले स्वीकार गरे पनि पीडितले नै इन्कार गरेकी थिइन् । जबरजस्ती करणीसहितको यौन दुव्र्यवहार नभएको भनी बकपत्र गरेकी, जाहेरवालालसमेत आफ्नै जाहेरीको बेहोरालाई अस्वीकार गरी प्रतिवादी कसूरदार होइनन् भनेकाले पनि पललाई सफाइ दिइएको फैसलाले बताएको छ । बलात्कारको मुद्धामा बाल यौन दुव्र्यवहारमा जरिवाना, क्षतिपूर्तीसहित कैद सजाय गर्ने नवलपुर अदालतको फैसला नै मिलेको नदेखिएको पूर्णपाठमा छ ।

घटना विवरण, विभिन्न व्यक्तिहरुको बयान र पीडितले नै मोबाइलमा म्यासेज गरेर माफी मागेको फैेसलामा बताइएको छ । नाबालिक बलात्कारको आरोप लागेपछि २०७८ फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका पल ठिक एक वर्षपछि फागुन १५ गते नै रिहा भएका थिए ।

प्रकाशित मिति २०८० साउन १ गते सोमबार १२:५३
हजुरको प्रतिक्रिया