काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेश सरकारमा जाने विषय आफ्नो पार्टीको प्राथमिकतामै नभएको दाबी गरेका छन् ।
शनिबार मोरङ पुगेका उनले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कोशी प्रदेशको स्थायित्वको लागि ठूला दल एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताएका हुन् ।
उनले कोशीमा एमाले नेतृत्वको सरकारमा जाने विषयमा कुनैपनि छलफल नै नभएको दाबी गरेका छन् ।
‘यो विषयमा अहिले कुनैपनि छलफल नै भएको छैन । हामीले त स्थायित्व चाहिएको हो भने सकेसम्म कांग्रेस र एमाले मिलेर सरकार बनाउनु भनेका छौ,’ उनले भने, ‘हाम्रो त प्रदेश प्राथमिकताको विषय नै होइन ।’
कुनै पनि सरकार आफ्नो प्राथमिकतामा नभएको जिकिर गरेका उनले कोशीमा अब एमाले र कांग्रेस मिल्नै नसक्ने अवस्था आयो भने संविधानको रक्षार्थ आफ्नो मत दिने स्पस्ट पारेका छन् ।
तर,उनले कोशीमा एमाले र कांग्रेस मिलेरै प्रदेश सरकारलाई स्थायित्व दिनुपर्नेमा जोड दिए ।
‘अहिले हामी कुनै पक्षमा नलागिदिदा खेरी यहाँ प्रदेश सभा नै विघटन हुनसक्ने परिस्थिति बनेको अवस्था छ । तर, त्यो कुनबेला हो भन्दा कांग्रेस र एमाले मिलेन भने हो,’ उनले भने ‘त्यो अवस्थामा मात्रै हामी कतै लागिदिए हुन्थ्यो भन्ने कुरा हो र सबैभन्दा पहिलो उपयुक्त कुरा त अहिलेको व्यवस्थाको संस्थापकहरु मिलेर यो प्रदेश सभालाई जोगाए राम्रो हुन्थ्यो । त्यसको मौका अझै तीस दिन छ, अझै अर्को धारा बाँकी छ । मेरो शुभकामना छ कांग्रेस र एमाले मिलेर यहाँ सरकार बनोस ।’
कोशी प्रदेशको सरकारमा सहभागी गराउन सत्तापक्ष–नेकपा माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको नेतृत्व पाएको कुरामा कुनै लेनदेन नभएको उनको दाबी थियो ।
प्रकाशित मिति २०८० भदौ २३ गते शनिबार ०२:३८




