अन्नपूर्ण बेसक्याम्प पुग्ने
पाेखरा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणका बेला पोखरा आउने भएका छन् ।
पोखरा हुँदै गुटरेस हेलिकप्टरमा अन्नपूर्ण बेसक्याम्प पुग्ने तालिका तय भएको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर)सम्म नेपालको औपचारिक भ्रमण गर्ने घोषणा गरेका उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । जनवरी २०१७ मा उनले पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा महासचिव गुटेरेसले ३० अक्टोबर २०२३ मा संघीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नेछन् । उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग कुराकानी गर्ने कार्यक्रम पनि रहेको छ ।
महासचिवका साथमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका अन्य अधिकारीहरू र नेपालस्थित राष्ट्रसंघको टोली पनि सहभागी हुनेछ । भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाललगायतसँग भेटवार्ता गर्नेछन्। महासचिव गुटेरेस १ नोभेम्बरमा काठमाडौंबाट प्रस्थान गर्नेछन् ।
प्रकाशित मिति २०८० कात्तिक ११ गते शनिबार ०१:२६




