पोखरा
मध्यराति गएको भूकम्पमा परी जाजरकोट र पश्चिम रुकुममा ६५ जनाको मृत्यु भएको छ । घटनामा १०० बढी घाइते भएको प्रारम्भिक जानकारी आएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् । रातिको समयमा भूकम्प गएकाले मानवीय क्षति बढ्ने सक्ने उद्धारमा खटिएका सुरक्षा अधिकारीहरुले अनुमान गरेका छन् ।
जाजरकोट रामीडाँडा आसपासलाई केन्द्र बनाएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । जाजरकोटमा ३७ र रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि भूकम्पमा परी मृत्यु भएको छ । शनिबार बिहान ६ बजेसम्म संकलन गरिएको विवरण अनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको छ । रातिको समय भएकाले विवरण आउन कठिन भएको छ ।
उद्धार र राहतमा समस्या
उद्धार र राहतका लागि कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ । सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मी र औषधि पठाउने तयारी भइरहेको सुर्खेत जिल्ला प्रशासन कार्यालले जानकारी दिएको छ । प्रधानमन्त्री पुष्पकमलम दाहाल प्रचण्डले उद्धार र राहतमा जुट्न तीन वटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् । भूकम्पको धक्का पोखरासहित देशभर र भारतको दिल्लीसम्म महसुस गरिएको छ ।
भूकम्पबाट भएकाे क्षतिको विवरण आउने क्रम जारी नै रहेको छ । राति ११ः ४७ बजे गएको भूकम्पपछि ३ वटा ४ रेक्टर भन्दा माथिका भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
प्रकाशित मिति २०८० कात्तिक १८ गते शनिबार ०६:१३




