रुकुम
रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१३ भल्माको बस्ती उँधो ठूलीभेरी सुसाउदै बग्छ । भीमा ओली (४०) को मन उसैगरी सुसाइरहेछ ।
त्रिपाल भित्रको उकुुसमुकुसबाट निस्केर बाहिर नियाल्छिन्, ओत लाग्ने घर त गर्लायामगुर्लुम ढलेको देख्छिन् । त्यो दृश्यले उनको मन चसक्क चर्कन्छ जसरी घरको भित्ता चर्किएर ढलेको छ ।
६ जनाको ओत लाग्ने घर भूकम्पको धक्काले ढलेपछि उनलाई छटपटीको पराकम्पनले सताइरहेको छ ।
न खाने अन्नको गेडा रह्यो न लगाउने एकसरो कपडा । सबै सबै ओत लाग्ने घरले पुरिदियो । जहाँ उनलाई जीवन सुरक्षित लाग्थ्यो त्यहीं घरले उल्टो डर पराकम्पनहरु पैदा गराइरहेको छ ।
‘घर हेर्नै मन लाग्दैन । घरको आसपास आउदा पनि डर लाग्छ । घर भन्नुपनि के छ र’, भत्किएकोे घर देखाउँदै उनले सुनाइन् ।
जाजकोरटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पले घर भत्किएपछि भीमासहित उनका श्रीमान र २ छोरा पुरिए । ‘श्रीमानले नै मलाई र छोराहरुलाई निकाल्नुभयो’, उनले भनिन्, ‘भुकम्प गएको थाहै भएन । होस् आउदा त घरले थिचेर जिउँ भारि भएको थियो ।’
१ घण्टापछि उद्धार गरेर उनको परिवारलाई राडी बजारस्थित स्वास्थ्य संस्थामा पु¥याइएको थियो । २ दिनको अस्पताल बसाइपछि शरीरमा लागेको चोट निको भएर घर फर्किएका उनको मन र दिमागको चोट झनै गहिरिएको छ ।
मानसिक रुपमा विक्षिप्त भएको उनले कुराकानीमा सुनाइन् । ‘भूकम्प फेरी आउने हो कि भन्ने लाग्छ । त्यत्तिकै भूईंमा हेरेपनि जमिन ढक्किया हो कि आङ ढक्किया हो… ’, उनले भनिन् ।
मिर्मि कुसारी (५०) को ज्यानलाई सन्चो देखिए पनि मनलाई निको छैन । न खाने ठेगान छ न बस्ने । राहतमा पाएको त्रिपालमा चिसो रात बिताइरहेकी उनलाई निन्द्रासमेत पर्दैन ।
भूकम्पको पराकम्पले उनको दिमाग अझैं हल्लाइरहेको छ । ‘मुटु ढकढक गरेको ग¥यैं गर्छ । राती निन्द्रा पर्दैन् । दिनमा खान मन लाग्दैन’, कुसारीले थपिन्, ‘अहिले आइगो कि झैं लाग्छ । रुख हल्लदा पनि भूइचालो आए झै लाग्छ ।’
बस्नै नमिल्ने गरी भत्किएको घर गोठले अर्को चोट चपेको उनले बताइन् । अब घरगोठ कसरी बनाउने ? चिन्तामै दिन बितिरहेको उनले सुनाइन् ।
‘बारीको पाटामा सुत्याछौं । छोराछोरी साना छन् हजूर । कमाउने कोही छैनन् । कल्ले हाल्देला घर ? कहाँ बस्ने होला ? छोरीको बिहे भैगो । बुराबुरी छम् । छोरा लास्टाका सानै छन्’, कुसारीले भनिन्, ‘छोराले अहिल्यै कमाउन सक्दैनन् । आफ्नो उमेर गैगो । अब मुस्किल छ !’
घर भए पो ढुक्क हुने उनको भनाइ थियो । हिउँदको चिसोमा पानी आए कसरी रात कटाउने उनले आफैंसँग प्रश्न गरिरहेकी छन् । सरकारले बनाइदिए पनि चाँडो गर्नुपर्ने उनको भनाइ छ ।
लिला खड्का (७७) लाई पनि अब बुढेसकालमा घर बनाउन सकिएला कि नसकिएला प्रश्नले सताइरहेको छ । भूकम्पले घर ढलेर उनलाई बेस्सरी थिच्यो । भत्किएको घरमा पुरिएकी उनलाई छरछिमेकले बेलैमा निकालेपछि भाँग्यले बाँचेकी उनी बाँचुन्जेल त ओत लाग्ने घर चाहिने बताउँछिन् ।
‘सरकारले घर बनाइदिएर अन्नपात दियो भने पो खान पाइएला । सबै पुरियो केही छैन’, उनले भनिन् ।
जाजरकोट केन्द्रविन्दु भइ गएको भूकम्पले आठविसकोट नगरपालिकामा मात्रै ४२ जनाको मृत्यु भएको छ । ८० जना घाइते भएका थिए ।
४ हजार २७५ घरमा पूर्ण क्षति भएको नगरप्रमुख रवि केसीले जानकारी दिए । उनका अनुसार २ हजार ३३७ घरमा आंशिक क्षति भएको छ । भुकम्पबाट १ हजार ७११ घरमा सामान्य क्षति भएको छ । उद्धार र उपचारपछि राहत वितरणमा लागिरहेको उनको भनाइ छ । ‘एकद्धार प्रणालीमार्फत सबैलाई समान तरिकाले वितरण गरिरहेका छौं’, उनले भने ।
प्रकाशित मिति २०८० कात्तिक २८ गते मंगलबार १०:२०



