२०८३ साउन २१ गते बिहीबार

मनोरञ्जन क्षेत्रका श्रमिक महिला दुर्व्यवहारको सिकार

मनोरञ्जन क्षेत्रका श्रमिक महिला दुर्व्यवहारको सिकार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ३ गते सोमबार ०५:१६

सबैभन्दा धेरै पोखराका श्रमिक महिला दुर्व्यवहारमा परेको सर्वेक्षणले देखाउँछ ।

पोखरा
मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक महिला कार्यस्थलमै हिंसा र दुर्व्यवहारको शिकार बन्ने गरेको पाइएको छ । ग्राहक, व्यवसायी र पुरुष सहकर्मीबाट उनीहरुको हिंसासँगै दुर्व्यवहारको शिकार भएका हुन् ।

शक्ति समूहले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाको सामाजिक, आर्थिक र श्रम ऐनको कार्यन्वयन अवस्था केन्द्रीत सर्वेक्षणले ४६ प्रतिशत कुनै न कुनै हिंसा र दुर्व्यवहारमा परेको खुलाएको हो ।

समूहले ५०७ जना श्रमिक महिलामाझ पुगेर सर्वेक्षण गरेको थियो । इटहरीमा ८३, पोखरामा १०१ र काठमाडौंमा ३२३ जना क्याविन रेष्टुरेन्ट, खाजाघर, दोहोरी साँझ, डान्सबार, मसाज र स्पामा काम गर्ने श्रमिक महिलाबीच गरिएको सर्वेक्षणमा ४६ प्रतिशतले दुर्व्यवहार भोग्न बाध्य भएको बताएका हुन् ।

त्यसमा पनि सबैभन्दा धेरै पोखराका श्रमिक महिला दुर्व्यवहारमा परेको सर्वेक्षणले देखाउँछ । सोमबार गरिएकोे प्रतिवेदन सार्वजनिक कार्यक्रममा पोखरामा ६९ प्रतिशत, काठमाडौंमा ४५ र इटहरीमा २३ प्रतिशतले दुव्र्यवहार भोग्नुपर्ने जानकारी गराइएको हो ।

क्षेत्रगत रुपमा सबैभन्दा बढी डान्सबारमा ७३ प्रतिशतले दुर्व्यवहार खेप्नुपरेको छ । दोहोरी साँझमा ५१ प्रतिशत, मसाज, स्पामा ३४ प्रतिशत, क्याबिनमा ३० प्रतिशत, खाजा घरमा ३० प्रतिशतले कार्यस्थलमै दुर्व्यवहारको अनुभव गरेका हुन् ।

ग्राहकले महिला श्रमिकको सहमती बिना शारीरमा छुने, अश्लील भाषाको प्रयोग गर्ने गरेको शक्ति समूहकी प्रशासकीय अधिकृत शुसिला खकुरेलले बताइन् । ‘श्रमिकलाई वस्तुको रुपमा लिई तिमिहरुको रेट कति हो भनेर सोध्छन् । शरीरका अंगहरूमा जुम गरेर सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गर्छन्’, सर्वेक्षणमा श्रमिक महिलाले सुनाएका अनुभव उदृत गर्दै खकुरेलले भनिन् ।

प्रहरीको व्यवहार भने पहिलेको तुलनामा केही हदसम्म सुधार भएको पाइएको छ । श्रमिकलाई दुर्व्यवहार र शोषणबाट बचाउन कार्यस्थलमा सुरक्षित वातावरण सुनिश्चित गर्न पर्याप्त आचारसंहिता नभएको उनको भनाइ थियो ।

सामाजिक हिसाबले पनि यो क्षेत्रमा काम गर्नेलाई गलत तवरले व्याख्या गर्ने गरेको पाइएको छ । मनोरञ्जन क्षेत्रमा सम्झौता बिनै श्रमिक महिलालाई काममा लगाएको सर्वेक्षणले बताउँछ ।

शक्ति समूहकी प्रमुख चरीमाया तामाङले मनोरञ्जन क्षेत्रलाई व्यवस्थित गर्न सकेको खण्डमा आन्तरिक रुपमा हुने मानव बेचविखनको संख्या शून्यमा झार्न सकिने बताइन् ।

‘यसलाई पूरा गर्न सबै लाग्यौं भने सम्भव छ । मनोरञ्जन क्षेत्रमा बालबालिका प्रवेश हुने छैनन् । मनोरञ्जन क्षेत्रमा प्रवेश गरेका परिपक्व नागरिक जोखिममा पर्ने छैनन्’, उनको विश्वास थियो ।

मनोरञ्जन क्षेत्रमा कार्यथलो र पेशालाई व्यवस्थितसँगै मर्यादित बनाउन आवश्य रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति २०८१ असार ३ गते सोमबार ०५:१६
हजुरको प्रतिक्रिया