पाल्पाको अर्चलेमा सर्वाधिक ३६३ मिलिमिटर वर्षा
काठमाडौं ।
केही दिनदेखिकाे अविरल वर्षा आज शनिबार पनि नराेकिने मौसमविदले बताएका छन् । मौसमविदहरुका अनुसार वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएको छ । त्यसैले आज दिनभर नै निरन्तर झरी पर्ने छ ।
निरन्तरकाे झरीमा सतर्क रहन र सुरक्षित स्थानमा बस्न मौसमविदले सुझाव दिएका छन् ।
नेपालमा मनसुनी वायु कायमै रहेकाबेला बंगालको खाडीबाट पनि थपिएको जलवाष्पयुक्त वायुले गर्दा अहिले मनसुन अत्यधिक सक्रिय भएको छ । देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या छ ।
काठमाडौं उपत्यकाका बस्तीसमेत जलमग्न छन् । नदी किनारका बस्ती झन् बढी प्रभावित भएका छन् । राजमार्गहरु अवरुद्ध भएका छन् । सडकसँगै हवाई सेवा पनि प्रभावित भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यो समाचार तयार पर्दासम्म १७ स्थानका बाढी मापन केन्द्रमा बाढीको सतह खतराको लेभलसम्म पुगेको छ ।
अरु त्यति नै संख्याका बाढी मापन केन्द्रमा बाढीको सतह खतराको संकेत पुग्दै छ । त्यसैले खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।
पाल्पाको अर्चलेमा २४ घण्टाको अवधिमा ३६३ मिलिमिटर वर्षा
वर्षा मापन केन्द्रका अनुसार १०५ वटा वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाले चेतावनीको तह पार गरेको छ ।
पाल्पाको अर्चलेमा सबैभन्दा बढी वर्षा भएको छ । पाल्पामा पछिल्लाे २४ घण्टाको अवधिमा ३६३ मिलिमिटर वर्षा भएको छ ।
प्रकाशित मिति २०८१ असोज १२ गते शनिबार ०९:०८




