पोखरा ।
पोखरा महानगरपालिकाको विशेष नगरसभा मंसिर २३ गते सम्मका लागि स्थगित भएको छ । पोखरा महानगरपालिकामा करार कर्मचारीसम्बन्धी विषयलाई लिएर एमालेबाट निर्वाचित वडाध्यक्षहरुले विशेष नगर सभा मागेपछि बिहीबार सभा सुरु भएको थियो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले थप छलफल गर्नुपर्ने भन्दै सभा २३ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएका थिए ।
गत कात्तिक १४ गते बसेको नगर कार्यपालिका बैठकले करारका २८ कर्मचारीसहित केही शिक्षक र सामाजिक परिचालकलाई हटाउने निणर्य गरेपछि एमालेका जनप्रतिनिधि र कर्मचारी आन्दोलित थिए । त्यसै सन्दर्भमा एमालेले ५ बुँदे प्रस्ताव पेश गर्दै विशेष नगर सभा माग गरेको थियो । नगर सभामा बहुमत रहेको एमालेले ३७ औं कार्यपालिकाको निणर्य खारेज गर्ने लगायतका प्रस्ताव मेयर आचार्यसँग माग गरेको थियो ।
महानगरले यसअघि नै गरेको दरबन्दी संरचनालाई स्थानीय सर्वेक्षण समिति गठन गरी पूूणर् प्रतिवेदन आगामी नगर सभामा पेश गर्ने एमालेको प्रस्ताव छ । प्रतिवेदन बमोजिम स्वीकृत दरबन्दी संरचना अनुसार स्थायी पदपूर्ति नभएसम्म हाल करार र ज्यालादारीमा कार्यरत सम्पूणर् कर्मचारीको करार सम्झौता नवीकरणबारे विशेष नगर सभामा छलफल गर्ने एमालेको प्रस्ताव छ । साथै, एमालेले कार्यपालिकाको २५ औं बैठकले कर्मचारी व्यवस्थापन सम्बन्धमा भएका निणर्य पूणर् कार्यान्वयन गर्न प्रस्ताव गरेको थियो ।
केन्द्रीय सक्ता समिकरणमा सगै रहेका कांग्रेस र एमाले भने पोखरा महागनरमा दुइ तर्फ फर्केका छन् महानगरपालिका प्रमुख धनराज आचार्य कार्यपालिकाको निणर्य कार्यान्यन गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
विशेष नगरसभाको औचित्य नभएको भन्दै कांग्रेसका वडाध्यक्ष एवं नगर सभा सदस्यहरुले विरोध गर्दै आएका थिए । कतिपय विषय अदालतमा विचाराधीन अवस्थामा रहेकाले अहिले विशेष सभाको औचित्य नभएको उनीहरुको भनाइ थियो ।
पोखरा महानगरमा ३ सय ६१ जनाको संघीय दरबन्दी छ । तर, पोखरा महानगरमा स्वास्थ्य महाशाखाबाहेकमा मात्र ७ सय ४७ जना कर्मचारी कार्यरत छन् ।
प्रकाशित मिति २०८१ मंसिर २० गते बिहीबार ०७:०९




